दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धी शिविर संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना र सम्बन्धित स्थानीय तहको समन्वयमा शिविर संचालन हुन लागेको हो । दुहुँ गाउँपालिकामा जेठ १९ गते र व्याँस गाउँपालिकामा जेठ २० गते निशुल्क प्रजनन स्वास्थ्य शिविर संचालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दुहुँ गाउँपालिकाको वडा नम्बर ४ स्थित धारी स्वास्थ्य चौकी र व्याँस गाउँपालिकाको वडा नम्बर ६ स्थित हुती स्वास्थ्य चौकीमा शिविर संचालन हुनेछ ।
शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ जाँचका साथै स्तन क्यान्सर जाँच तथा परामर्श सेवा, पाठेघर खसेका महिलाहरुको स्क्रिनिङ तथा रिङ पेसरी राख्ने, परिवार नियोजनका लामो अवधिको अस्थायी साधन ईम्प्लान्ट, (आईयुसीडी) सेवा प्रदान गरिनेछ ।
यस्तै महिलाहरुको तल्लो पेट दुख्ने , चिलाउने, सेतो पानी बग्ने समस्याको उपचार, बाँझोपनको चेकजाँच तथा परामर्श, किशोरकिशोरी प्रजनन तथा अन्य स्वास्थ्य सेवाहरु, यौन रोगको उपचार तथा परिक्षण , ल्याब सेवाहरु प्रदान गरिने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?