काठमाडौं । आइसीसी टी-२० विश्वकप आजदेखि सुरू हुँदैछ। जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन्।
यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन्। आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल हुँदैछ। डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरू हुनेछ।
त्यस्तै, दोस्रो खेलमा वेस्ट इण्डिज र पीएनजी खेल्दै छन्। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति ८:१५ बजेदेखि सुरू हुने छ।
यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदै छन्।
२० टिमलाई हरेकमा ५ देशलाई राखेर ४ समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि हरेक टिमका शीर्ष २ देश सुपर ८ मा पुग्ने छन्।
समूह ए मा अमेरिका, क्यानडा, भारत, पाकिस्तान र आयरल्याण्ड रहेका छन्। त्यस्तै समूह बी मा अस्ट्रेलिया, इङल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड रहेका छन्।
त्यसैगरी समूह सी मा वेस्ट इण्डिज, अफगानिस्तान, न्यूजील्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् भने समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्डस, दक्षिण अफ्रिका र श्री लंका रहेका छन्।
कसले कतिपटक जिते विश्वकप ?
इङल्याण्ड टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो। २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो। टी-२० विश्वकप्को यो नवौं सिजन हो। यस अघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक जितेका छन्। इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी-२० विश्वकप जितेको थियो।
त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक एक पटक टी-२० विश्वकप जितेका छन्। भारतले टी-२० विश्वकपको पहिलो संस्करण २००७ मा जितेको थियो भने अस्ट्रेलियाले २०२१ मा श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो। त्यस्तै टेस्ट खेल्ने प्रमुख राष्ट्र न्यूजील्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी-२० विश्वकप जित्न सकेका छैनन्।
न्यूजील्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो। त्यस्तै आयरल्याण्ड र बंगलादेश एक एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्डस एक पटक सुपर १२ मा, अफगानिस्तान एक पटक सुपर १० सम्म पुगेका छन्।
त्यस्तै जिम्बाबे, नामिबिया र स्कटल्याण्ड एक एक पटक सुपर १२ सम्म पुगेका छन्।
यो खबर तपाईंलाई कस्तो लाग्यो?