दार्चुला : दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्र प्रसाद बडूले महाकाली कोरिडोर सरकारको प्राथमिकतामा किन परेन भनेर प्रश्न गरेका छन् । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफलका क्रममा सोमवार सांसद बडूले महाकाली कोरिडोरमा न्युन बजेट छुट्याइएको भन्दै प्राथमिकतामा नपर्नुको कारण सोधेका हुन् । उनले महाकाली कोरिडोर र यसअन्तर्गतको दार्चुला–तिंकर सडक खण्डमा बजेट विनियोजनबारे अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई प्रश्न गरेका छन् ।
दक्षिणमा कञ्चनपुरको दोधरा–चादनी सुख्खा बन्दरगाह जोड्ने र उत्तरमा पवित्र कैलाश–मानसरोवर मार्ग रहेको त्रिदेशीय सीमा क्षेत्रको रणनीतिक महत्वको सडकलाई उपेक्षा गरिएको भन्दै महाकाली कोरिडोरको बजेट कहाँ गयो भनेर प्रश्न उठाए ।
यस्तै उनले चुच्चे नक्शामा समेटिएको भू–भागको सडक राष्ट्रिय स्वभिमान संग जोडिएको सडक भएपनि आफ्नो भूगोलभित्र बाटो बन्न नसक्नु कस्तो बिडम्पना हो भनेर गुनासो गरे ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?