दार्चुला : दार्चुला भन्सार कार्यालयले ११ महिनामै वार्षिक राजस्व संकलनको लक्ष्य भेटाएको छ । चालू आर्थिक वर्षको एक महिना बाँकी छँदै कार्यालयले वार्षिक लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो । दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा ५४ लाख ९ हजार ७३५ रुपैयाँ राजस्व संकलन गरिएको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख ७० हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यभन्दा ३ लाख ३९ हजार ७ सय ३५ रुपैयाँ बढी संकलन भएको कार्यालय प्रमुख प्रसादले बताए ।
चालू आर्थिक वर्षको साउन महिनामा ६ लाख ७० हजार ४ सय ८१ रुपैयाँ, भदौ महिनामा ४ लाख ६ हजार ७१ रुपैयाँ, असोज महिनामा ४ लाख ४९ हजार १ सय ६८ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै कात्तिक महिनामा ४ लाख १३ हजार २ सय १ रुपैयाँ, मंसिरमा ३ लाख ६८ हजार ९३ रुपैयाँ, पुस महिनामा ३ लाख २७ हजार ४ सय ८० रुपैयाँ, माघमा २ लाख ७२ हजार ३ सय ५८ रुपैयाँ संकलन भयो । त्यस्तै फागुन महिनामा ४ लाख ५३ हजार ९ सय १२ रुपैयाँ, चैतमा ५ लाख ५० हजार ६ सय २८ रुपैयाँ, वैशाख महिनामा ८ लाख १३ हजार ७ सय ९३ रुपैयाँ र जेठ महिनामा ६ लाख ८४ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन भएको दार्चुला भन्सार कार्यालयले जनाएको छ ।
यस वर्ष भारततर्फ खरीसमेत निर्यात भएको छ । गत आर्थिक वर्षमा पनि दार्चुला भन्सार कार्यालयले लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षको असार महिनामा कार्यालयले ४ लाख २४ हजारको राजस्व संकलन लक्ष्य राखेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?