दार्चुला–टिंकर सडकमा बजेट नछुट्याएको भन्दै सांसद बडूको रोष्टममा मौन धारण

दार्चुला–टिंकर सडकमा बजेट नछुट्याएको भन्दै सांसद बडूको रोष्टममा मौन धारण

दार्चुला : नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले प्रतिनिधि सभाको सदनको रोष्ट्रममै मौनधारण गरेका छन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको दार्चुला–टिंकर सडकलाई उपेक्षा गर्दै बजेट नछुट्याएको भन्दै एक मिनेट मौन धारण गरेका हुन् । दार्चुलाको रणनीतिक महत्वको सडकलाई विस्तार गर्न र प्रयाप्त बजेट विनियोजन गर्न पटकपटक बोल्दा र भेट्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बजेट नछुट्याएको भन्दै एक मिनेट मौनधारण गर्ने सांसद बडूले बताएका थिए ।

उनले आफ्नो देशको एक ठाउँबाट अर्को ठाउँमा जान भारतबाट जानुपर्ने अवस्था रहेको सुनाए । सांसद बडूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा जोडिएको क्षेत्रमा बजेट नराखेकोप्रति आपत्ति जनाउँदै चुच्चे नक्सा बनाउँदा सबैको सहमति भए पनि त्यहाँ सडक निर्माणमा भौतिक पूर्वाधारमन्त्रीले बेवास्ता गरेको आरोप लगाए ।

‘प्रधानमन्त्री र मन्त्रीलाई सँगै राखेर पनि कुरा गरे तर भयो के ? भौतिकमन्त्री महासेठ ज्यूलाई यो देशको भूगोलको पनि जानकारी छ कि छैन, शंका हुन थाल्यो’ उनले भने ।
दार्चुलाको तिंकर क्षेत्र जानका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता उल्लेख गर्दै बडूले भने– ‘त्यो हाम्रै देशको भूगोल र सीमाभित्र यस्तो भूगोल कहाँ छ जहाँ आफ्नै भूगोल, सीमाभित्र एक ठाउँबाट अर्को ठाउँ जानका निमित्त अर्को देशको बाटो जानुपर्छ ?’ २०७७ सालदेखि सडक निर्माण सुरु भएदेखि दार्चुला खलंगादेखि तिंकर जानका लागि भारतीय बाटो प्रयोग गर्नुपरेको उल्लेख गर्दै बडूले तत्काल उक्त सडक निर्माण सम्पन्न गर्नका लागि बजेट विनियोजनको माग गरेका थिए ।

रणनीतिक महत्वको सडकलाई उपेक्षा गरिएको भन्दै उनले आपत्ति जनाए । उनले भने– ‘उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती एउटै पार्टीको हुनुहुन्छ । दुवै एउटै पार्टीको हुँदा सहज हुन्थ्यो । पार्टी फरक पर्दा फरक हुनसक्थ्यो । दार्चुलाबाट एमालेका शीर्ष नेताहरु पनि भेटेर भनेका छौं भन्थे, तर तीन जना बसेर के निर्णय भएको रहेछ भन्दा निर्णय त जिरो ! गायब छ । यो राष्ट्रिय महत्वको कुरा हो । अहिले पनि समय छ । यस्तो इस्युमा सबै उभिऊन् । एउटा सांसदको विषय नहोस् । यो पूर्वनिर्णय लत्याएर सुनुवाइ भएन, त्यसको विरुद्धमा जनताको कुरा नसुनेपछि म एक मिनेट मौनधारण गर्छु ।’

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *