काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिले कर्मचारीलाई धम्क्याएर बील भु्क्तानी गर्न खोजिएको प्रति कांग्रेस डिलाशैनीले ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार कांग्रेस डिलाशैनीले एक प्रेस विज्ञप्ती जारी गर्दै गत सोमबार गाँउपालिकाको कार्यालयमा केही व्यक्तिको समूहले गरेको अराजक र अमर्यादित कार्यप्रति ध्यानाकर्षण भएको जनाएको हो।
‘गाँउपालिका अध्यक्ष सन्तोषप्रसाद जोशीले नीति, नियम र आर्थिक अनुशासनविपरित गैरकानुनी ढङ्गले आफूखुसी गरेको खर्चको बीलभुक्तानी गराउन खोज्दा प्रमुख कार्यकारी अधिकृत र लेखा प्रमुखले अस्वीकार गरेपछि उँहाबाटै परिचालित व्यक्तिको जत्थाले कार्यालयको लेखा शाखामा वितण्डा मच्चाएर कार्यालयका कर्मचारीसँग प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह बोहरा, सूचना प्रविधि अधिकृत नवीनबहादुर राना, लेखापाल नारदसिंह विष्ट र योजना शाखा प्रमुख प्रदिप राज भट्टसँग गेरेको दुर्व्यवहारको नेपाली काङ्ग्रेस घोर भत्सर्ना गर्दछ’, विज्ञप्तीमा उल्लेख गरिएको छ।
अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट आफ्नै कार्यालयका राष्ट्रसेवक कर्मचारीमाथि गराइएको यस प्रकारको आक्रमणको प्रयासको जतिनिन्दा गरे पनिकम नै हुने डिलाशैनी कांग्रेसको आरोप छ। सो घटनाले पालिकामा व्यापक भ्रष्टाचार र आर्थिक अनियमितता भएको छ भन्नेगम्भीर आशङ्का उत्पन्न गराएको डिलाशैनी कांग्रेसको दाबी छ।
पालिका सभापति जयानन्द जोशी (जयराज)द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘जनप्रतिनिधिकै अगाडि कर्मचारीमाथि हातपात र गालिगलौच गर्ने र गराउने व्यक्तिहरु माथिकारवाहीको माग गर्दछौँ। साथै कार्यालयमा भुक्तानीका लागि पेस भएका गैरकानुनी बीलको छानवीन गरी गैरकानुनी रुपमा सरकारी ढुकुटीको दुरुपयोग गर्न खोज्ने तत्वलाई कडाभन्दा कडा कारवाहीको लागि जोडदार माग गर्दछौँ। यस्ता अराजक घटनालाई ढाकछोप गर्न खोजेमा डिलाशैनीका जनताले त्यसको प्रतिकार गर्ने र त्यसबाट उत्पन्न हुने विसम परिस्थितिको जिम्मेवारी स्वयं अध्यक्षले लिनु पर्ने चेतावनीसमेत दिन चाहन्छौँ।’
यो खबर तपाईंलाई कस्तो लाग्यो?