दार्चुला : दार्चुलामा माध्यमिक शिक्षा परीक्षा एसइई २०८० नतिजाको विश्लेषण गरिएको छ । प्रधानाध्यापक संघ नेपाल (प्यान) दार्चुलाको आयोजनामा शनिवार जिल्लाका माध्यमिक विद्यालयका प्रअ, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि, जिल्ला समन्वय समिति, प्रमुख, स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा एसइई नतिजाको विश्लेषण गरिएको हो ।
दार्चुलामा यस वर्षको एसइई परीक्षामा १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उतीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।जिल्लामा १३ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । यस्तै ७६ ओटा माध्यमिक विद्यालयले सहभागिता जनाएकोमा ७ विद्यालयको नतिजा शून्य आएको छ । दार्चुलामा २ हजार ५ सय ७५ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाएकोमा ५ सय १४ जना मात्रै उतीर्ण भएका छन् ।
एसइई नतिजाको विश्लेषणमा स्थानीय तहबाट शिक्षण सिकाई सुधारका लागि अनुगमन नभएको, अधिकांस विद्यालयमा नियमित रुपमा प्रधानाध्यापक र विषयगत शिक्षकको उपस्थिति नहुँनु, शिक्षकले अध्यापनलाई प्राथमिकतामा राखेर शिक्षण नगर्नु, विद्यार्थीलाई मोबाइल फोनको प्रयोग, अभिभावकको जिम्मेवारी नुहुनु, समयमै कोर्ष पूरा नहुने जस्ता कारणले नतिजा खस्किएको निष्कर्ष निकालिएको छ । धेरै विद्यालयको नतिजा हेर्दा शिक्षकको विषयगत स्वीकृत दरबन्दी प्रयाप्त हुँदा पनि प्रगति भने न्यून देखिएको छ । यस्तै प्रधानाध्यापकहरुले विद्यार्थीको बेस बलियो नभएका कारणले पनि नतिजा कमजोर आएको बताएका छन् ।
१३ जनाको नतिजा ए प्लस
एसइई परीक्षामा सहभागिता जनाएका दार्चुलाका २ हजार ५ सय ७५ जना विद्यार्थीमध्ये १३ जनाको नतिजा ए प्लस आएको छ । ३ दशमलव ६ जीपीए देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या १३ जना हुन् ।
यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए अर्थात ए ग्रेड ल्याउने विद्यार्थी संख्या ५३ जना रहेको छ । २ दशमलव ८ जीपीए देखि ३ दशमलव २ जीपीए ल्याएर बी प्लस ग्रेडमा १ सय ९१ जना उर्तीण भएका छन् भने बी ग्रेड अर्थात २ दशमलव ४ जीपीएदेखि २ दशमलव ८ जीपीए ल्याउनेमा २ सय २५ जना रहेका छन् । यस्तै २ जीपीए देखि २ दशमलव ४ जीपीए (ग्रेड सी प्लस) ३२ जनाको आएको छ ।
२०६१ विद्यार्थीको नतिजा एनजी
दार्चुलाका २ हजार ६१ विद्यार्थीको नतिजा नन ग्रेडेड एनजी आएको छ । परीक्षामा सहभागिता जनाएका २ हजार ५ सय ७५ जना विद्यार्थी मध्ये २ हजार ६१ जनाको नतिजा एनजी आएको हो ।
साधारणतर्फ १९ प्रतिशत र प्राविधिकमा ३१ प्रतिशत सफल
माध्यमिक शिक्षा परीक्षा २०८० मा दार्चुलाबाट साधारण
धारतर्फको उतीर्ण प्रतिशत १९ दशमलव ४८ आएको छ । साधारण धारतर्फ २ हजार ४ सय ६४ जनाले सहभागिता जनाएका थिए । सहभागी विद्यार्थी मध्ये ४ सय ८० जना मात्रै उतीर्ण भएका छन् । साधारणतर्फ १ हजार ९ सय ८४ जनाको नतिजा एनजी आएको छ ।
साधारणतर्फका १२ जना विद्यार्थीको नतिजा ए प्लस आएको छ । यस्तै ४९ जनाको ए, १ सय ७३ जनाको बी प्लस, २ सय १५ जनाको बी, ३१ जनाको सी प्लस आएको छ ।
यस्तै प्राविधिक धारतर्फको उतीर्ण प्रतिशत ३० दशमलव ६३ रहेको छ । परीक्षामा सहभागी १ सय ११ जनामध्ये ३४ जना उतीर्ण भएका हुन् । ७७ जनाको एनजी आएको छ । प्राविधिक धारतर्फका १ जनाको मात्रै ए प्लस आएको छ भने ४ जनाको ए, १८ जनाको बी प्लस, १० जनाको बी र १ जनाको सी प्लस ग्रेड आएको छ ।
नतिजामा नौगाड प्रथम
नौगाड गाउँपालिकाले एसइई परीक्षामा सबैभन्दा बढी नतिजा ल्याएको छ । नौगाड गाउँपालिकाले ४० दशमलव २१ प्रतिशत नतिजा ल्याएको हो । कूल २७६ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएकोमा १ सय ११ जना उतीर्ण भएका छन् । नौगाडमा ७ ओटा माध्यमिक विद्यालय रहेका छन् ।
यस्तै १३ ओटा विद्यालय रहेको महाकाली नगरपालिकाको ३२ दशमलव १७ प्रतिशत नतिजा आएको छ ।
सबैभन्दा बढी अर्थात १४ विद्यालय रहेको शैल्यशिखर नगरपालिकामा १२ दशमलव ३८ प्रतिशत उतीर्ण भएका छन् । यस्तै दुहुँ गाउँपालिकामा ५ ओटा सामुदायिक विद्यालय रहेका छन् । दुहुँको १८ दशमलव ४९ प्रतिशत नतिजा आएको छ । यस्तै ५ ओटा विद्यालय रहेको व्याँस गाउँपालिकाको ११ दशमलव ७१ प्रतिशत, ११ विद्यालय रहेको मालिकार्जुन गाउँपालिकाको २१ दशमलव ५१ प्रतिशत, १० विद्यालय रहेको लेकम गाउँपालिकाको १० दशमलव ९४ प्रतिशत नतिजा आएको छ । ७ विद्यालय रहेको मार्मा गाउँपालिकाको ७ दशमलव ४ र ४ ओटा विद्यालय रहेको अपिहिमाल गाउँपालिकाको नतिजा ६ दशमलव ९ प्रतिशत आएको छ ।
५० बढी विद्यार्थी भएकाको नतिजा
जिल्लाका १४ विद्यालयले ५० जना भन्दा बढी विद्यार्थी सहभागी गराएको थियो । जसमा नौगाड गाउँपालिकाको गणेश विनायक मावि सिप्टी प्रथम भएको छ । सिप्टीमा ६६ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३१ जना उतीर्ण भए । गणेश विनायक माविले जिल्लामै प्रथम ४६ दशमलव ९६ प्रतिशत नतिजा ल्याएको छ ।
यस्तै दोस्रोमा महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलंगा रहेको छ । महेन्द माविले ४४ दशमलव १७ प्रतिशत नतिजा ल्याएको छ । यहाँ ३ सय २६ विद्यार्थीले सहभागिता जनाएकोमा १ सय ४४ जना उतीर्ण भए । ५० जना वा ५० जनाभन्दा बढी विद्यार्थी सहभागी गराई जिल्लामा तेस्रो हुनेमा महाकाली नगरपालिकाकै मालिकार्जुन नमुना मावि धाप रहेको छ । धापमा ६९ जना विद्यार्थीले परीक्षामा सहभागी जनाए भने २८ जना उतीर्ण भए ।
यस्तै चौथोमा लटिनाथ मावि खार, पाँचौमा गौरिलमाडौँ हिकिला, छटौँमा लटिनाथ मावि रस्कोट, सातौमा कृष्णमावि बलाच, आठौँमा मालिकार्जुन मावि आगर, नवौँमा गोकुलेश्वर मावि गोकुले, दशौँमा खण्डेश्वरी मावि क्षेत्ती, एघारौँमा लटिनाथ मावि चौपाता, बाह्रौमा तपोवन मावि पडपडा, तेह्रौँमा छन्नातिंकरी कन्या मावि खलंगा र चौधौँमा मालिकार्जुन मावि काँडापारी रहेका छन् ।
सबैभन्दा बढी गणितमा ‘फेल’
दार्चुलामा सबैभन्दा बढी गणित विषयमा ननग्रेड एनजी आएको छ । गणितमा १ हजार ७ सय ६२ जनाको एनजी आएको छ । यस्तै अंग्रेजीमा १ हजार ४ सय ७४ जनाको एनजी आएको छ । विज्ञानमा १ हजार १ सय ५७ जना, नेपालीमा ८ सय ४ जना, सामाजिकमा ५ सय ६८ जना, ऐच्छिक प्रथममा ९ सय ३४ जना र ऐ. द्धितीयमा ३ सय ३ जनाको नतिजा एनजी आएको छ ।
एसइईमा दार्चुलाका ७ विद्यालय ‘निल’
माध्यमिक शिक्षा परीक्षा २०८० मा दार्चुलाका सात वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका अनुसार दार्चुलाका ५ स्थानीय तहका ७ वटा विद्यालयको नतिजा शून्य आएको हो ।
यस वर्षको एसइई परीक्षामा जिल्लाको महाकाली नगरपालिकाको अल्कापुरी मावि कोटकौतोली, शैल्यशिखर नगरपालिकाका भूमिराज मावि तौकी र बद्रीनाथ मावि बोहरीगाउँ, लेकम गाउँपालिकाका हुनैनाथ मावि कुणी र केदारनाथ मावि धरमघर, मालिकार्जुन गाउँपालिकाको निलपातालेश्वर मावि भर्तोला र मार्मा गाउँपालिकाको सल्लेधार मावि मुर्रैको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका सूचना अधिकारी लक्ष्मी दत्त जोशीले जानकारी दिए ।
यस वर्षको एसइई परीक्षामा जिल्लाका ७२ वटा सामुदायिक विद्यालय, ३ वटा संस्थागत विद्यालय र एक खुला गरी जम्मा ७६ विद्यालयले सहभागिता जनाएका थिए । जिल्लामा अधिकांश विद्यार्थीहरुको गणित, अंग्रेजी र विज्ञान विषयमा नन ग्रेडेड (एनजी) आएको छ ।
प्यानद्वारा उत्कृष्ट अंक ल्याउने ४ विद्यार्थीलाई सम्मान
प्रधानाध्यापक संघ नेपाल (प्यान) दार्चुलाले दार्चुला जिल्लाबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने ४ विद्यार्थीलाई सम्मान गरेको छ । साधारण तथा प्राविधिक धारतर्फ अध्ययन गर्ने २ जना छात्र र २ जना छात्रालाई सम्मान गरिएको प्यान दार्चुलाका अध्यक्ष राम दत्त जोशीले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी जिपिए ल्याउने मालिकार्जुन नमुना मावि धापका साधारण धारतर्फ अध्ययन गर्ने बिपिन धामीलाई सम्मान गरिएको हो । धामीले जिल्लामै सबैभन्दा बढी ३.८ जिपिए ल्याएका छन् । यस्तै लटिनाथ मावि बस्कोटका सुजता जोशी पनि सम्मानित भएका छन् ।
सम्मानित हुनेमा प्राविधिक धारतर्फ ३.६८ जिपिए ल्याउने मालिकार्जुन नमुना मावि धापका छात्र रजत ऎतवाल र ३.२३ जिपिए ल्याउने जनविकास मावि बारबाजका छात्रा रोशनी बम रहेका छन् । यस्तै प्यानले उत्कृष्ट नतिजा ल्याउन सफल ९ वटै स्थानीय तहका विद्यालयलाई पनि सम्मान गरेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?