दार्चुला : सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्थाले महिलाहरुलाई एक दिने वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ पन्डोराका महिलाहरुलाई वित्तीय साक्षरताका साथसाथै कृषि व्यवसाय सम्बन्धी सीप विकास तालिम दिइएको हो ।
सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दार्चुलाको आयोजनामा शुक्रवार महिलाहरुलाई एक दिने वित्तीय साक्षरता र मौसमी तथा बेमौसमी कृषि खेती सम्बन्धी प्राविधिक ज्ञान दिईएको शाखा प्रबन्धक जनक राज जोशीले जानकारी दिए ।
एक दिने तालिममा वित्तीय सेवाबारे जानकारी, समग्र लघुवित्तको जीवन चक्र, संस्थाको परिचय, ग्राहकलाई दिने सेवा सुविधा, नीति नियम, बचतसम्बधी सम्पूर्ण जीवनचक्र, सदस्य मैत्री संस्था, सिवाईसीले गरिरहेका कार्यक्रम तथा गतिविधि, सदस्यलाई उत्पादनशिल ठाउँमा लगानी र लगानीको लागि सम्भावित क्षेत्र पहिचान तथा जानकारी, वित्तीय मार्गचित्र निर्माण र बचत गर्ने बानीको विकास गर्ने लगायतका विषयमा छलफल भएको जोशीले बताए ।
वडा नम्बर २ क्षेत्रमा आधुनिक कृषिको सम्भाव्यता, मौसमी बेमौसमी खेती प्रविधि, रसायनिक बिषाधिलाई न्युनिकरण गरि जैविक बिषादी बनाई प्रयोग गर्ने, बेर्ना उत्पादन गर्ने तरीका र सफल कृषि उद्यमीबारे जानकारी, प्राबिधिक ज्ञान र बजारीकरणका सवालमा जानकारी संस्थाका कृषि प्राविधिक योगेश कुँवरले गराएका थिए भने सदस्य व्यवस्थापन र केन्द्र व्यवस्थापनसहित समूहका बारेमा संस्थाका कर्मचारी दिपेन्द्र सिंह सामन्तले जानकारी गराएका थिए ।
कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्थाले सदस्य सशक्तिकरण र व्यवसायिकरणलाई जोड दिदै सीपमूलक तालिम संचालन गर्ने जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?