दार्चुला : सरोकारवाला निकायले अवरुद्ध सडक खुलाउन चाँसो नदेखाएपछि निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्षको पहलमा किम्तडीस्थित पिपलधारको पहिरो पन्छाउने कार्य भइरहेको छ । स्थानीय सरकार, सडक डिभिजन बैतडी र प्रशासनले सडक खुलाउन चाँसो नदिदा आफूले जेसीबी भाडामा लिएर दिउँसो ३ बजेबाट अवरुद्ध सडक खुलाउने कार्य गरिरहेको निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडूले बताए ।
दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीस्थित भीरमा माथिबाट पहिरो खस्दा शनिबार बिहान १० बजेबाट सडक अवरुद्ध छ । बिहानै अवरुद्ध भएको सडक खोल्न कोही तयार नहुँदा आफै लागेको उनले बताए । उनले भने–‘सदरमुकाम जोड्ने मुख्य सडक अवरुद्ध हुनु ठिक भएन्, खोल्नुपर्छ भनेर निर्माण व्यवसायीका अन्य साथीहरुले पनि भने र काम सुरु गर्यौ ।’ अवरुद्ध सडक खुलाउने विषयमा स्थानीय प्रशासनको भूमिका पनि शून्य देखिएको उनको आरोप छ ।
‘राज्यले निर्माण व्यवसायीको काम गरेको अहिलेसम्म भुक्तानी गरेको छैन्, हामीले यसरी काम गर्नुपर्ने अवस्था छ उनले थपे ।’
महाकाली नगरपालिका–५ किम्तडीस्थित भीरमा शुक्रवार बिहान पनि पहिरो खसेको थियो । उक्त पहिरो महाकाली नगरपालिकाले जेसिबी प्रयोग गरेर हटाएको थियो । आज फेरी सोही ठाउँमा ठूलो पहिरो खसेको छ ।
पहिरो हटाउन नसकिने भन्दै महाकाली नगरपालिका पन्छिएको छ भने सडक डिभिजनको जेसिबी बिग्रेको बताइएको छ । मुख्य सडक अवरुद्ध हुँदा सवारीसाधन पल्टी गरेर संचालनमा छन् भने यात्रुहरु आधा घण्टा बढी समय पैदल हिडेर सदरमुकाम आउजाउ गरिरहेका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?