दार्चुला : नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले रिक्त रहेको उपसभापति पदपूर्ति गरेको छ । दार्चुला काँग्रेसको साउन १२ गतेदेखि चलेको बिस्तारित बैठकले उपसभापति पद पूर्ति गरेको हो । नेपाली काँग्रेस जिल्ला कार्य समितिको उपसभापतिमा मानसिंह बुढाथोकीलाई मनोनित गरिएको सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
१४ औँ महाधिवेशनबाट निर्वाचित भएका उपसभापति ललित सिंह ठगुन्ना पार्टि परित्याग गरी नेकपा माओवादी केन्द्रमा गएपछि उपसभापति पद रिक्त थियो । ४२ सदस्यीय जिल्ला कार्यसमितिमा दुई जना उपसभापति छन् । यसअघि एक जना मात्रै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू उपसभापतिको जिम्मेवारीमा थिए । बुढाथोकी उपसभापतिमा चयन गरिएसँगै दार्चुला काँग्रेसको जिल्ला कार्य समिति पूर्ण भएको छ ।
यस्तै नेपाली काँग्रेसले भातृसंघहरुको जिल्ला अधिवेशन गर्न आवश्यक तयारी थाल्ने निर्णय गरेको छ । भातृ संघका रुपमा रहेको नेपाल विद्यार्थी संघको सक्रियतालाई बढाउन काँग्रेसले जोड दिएको छ । पछिल्लो समय नेपाल विद्यार्थी संघका अध्यक्ष रमेश भट्टको सांगठनिक गतिविधिमा सक्रियता नरहेको भन्दै उनलाई जिल्लामा बसी जिम्मेवारी बहन गर्न निर्देशन गर्ने र जिम्मेवारी बहन नगरेमा जिल्ला कार्य समितिले निर्णय गरी नेविसंघलाई क्रियाशिल गराउने निर्णय भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाको आयोजनामा तीन दिनसम्म जिल्लामा बिस्तारित बैठक डाकिएको थियो । साउन १२ गतेदेखि सुंरु भएको बैठक आज सम्पन्न भएको हो । बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता रहेको थियो । पार्टी सभापति ललित सिंह बोहराको अध्यक्षतामा बसेको उक्त विस्तारित बैठकमा प्रदेश कार्य समिति सदस्य, जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पालिका सभापति, वडा सभापति, क्षेत्रिय पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भातृ संघ तथा शुभेच्छुक संघहरु लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?