दार्चुला : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दार्चुलाका एमाले नेताकार्यकर्ताले जिल्लाको विकासका लागि ८ बुद्धे ज्ञापनपत्र बुझाएका छन् । पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले अध्यक्ष ओलीसंग सोमवार भेटेर ८ बुद्धे मागसहितको ज्ञापन बुझाएका हुन् । ओली प्रधानमन्त्री भएपछि पहिलोपटक दार्चुलाको पार्टीको प्रतिनिधिमण्डलले भेटघाट गरि बधाई दिएको र समसामयिक विषयमा लिखित माग पेश गरिएको जनाएका छन् ।
उनीहरुले बुझाएको माग पत्रमा दार्चुला टिंकर सडकमा ४० करोड बजेट विनियोजन गरी तीव्र गतिमा काम थाल्न भनिएको छ । यस्तै छुट्टै आयोजनामा रुपमा लिइ यसको नाम प्रेम सिंह धामी राष्ट्रिय राजमार्ग नामाकरण गर्न भनिएको छ ।
यस्तै चीन जोड्ने उत्तरी नाका खुला भएपछि स्थानीयहरु ताक्लाकोट प्रवेश भएको तर, त्याहा व्यापार व्यवसाय गर्न र पसल खोल्न नपाएकोले चीन सरकार र नेपालस्थित चिनियाँ राजदुतावासमा कुटनीतिक पहलका लागि माग गरिएको छ ।
तेस्रो बुद्धामा वर्षाका कारण बाढी र पहिरो जाँदा दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ मा ठूलो क्षति भएकाले विस्थापित तथा प्रभावितहरुका लागि राहत र पुनस्थापना गर्न भनिएको छ ।
यस्तै गोकुलेश्वर एयरपोर्टमा बजेट विनियोजन, व्याँस गाउँपालिका– २ दुम्लिङमा झोलुङ्गे पुल र वडा नम्बर १ सितापुलमा पक्की पुलका लागि पहल गरिदिन अनुरोध गरिएको छ ।
अपिहिमाल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र अपि बेस क्याम्प क्षेत्रमा पर्यटकीय कार्यक्रम सञ्चालनको माग गरिएको छ ।
साथै राष्ट्रिय धाम मालिकार्जुनमा क्रमागत बजेट विनियोजन, र बाढीका कारण क्षति भएका महाकाली नगरपालिका–१ कलौन र श्रीबगर लगायत जिल्लाका विभिन्न ठाउँमा तटबन्ध, नदीनियन्त्रण कार्यका लागि आवश्यक स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई निर्देशन गरिदिन आग्रह गरिएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?