दार्चुला : दार्चुला जिल्लाको समग्र विकासका लागि यहाँका राजनीतिक नेतृत्व एक ठाउँमा उभिएका छन् । पछिल्लो केहि दिनदेखि मुख्य तीन ठूला दलका नेता तथा कार्यकर्ताहरु दार्चुलाको विकासका निम्ति काठमाडौँ केन्द्रीत छन् । गत साउन ३२ गते नेपाली काँग्रेसका केन्द्रीय सदस्य, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, एमाले केन्द्रीय सदस्य हरदेव जोशी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीलगायत दार्चुला जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सेनाले निर्माण गरिरहेको टिंकर सडकमा बजेट थप र मार्मा गाउँपालिकामा पहिरोले पुर्याएको क्षतिबारे पुनर्निर्माण तथा पुनस्र्थापना र राहतका लागि माग गरेका छन् ।
संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई भेट्न गएका उनीहरुले महाकाली कोरिडोर अन्तर्गतको सेनाले निर्माण गरिरहेको दार्चुुला–टिंकर सडक खण्डमा चालू आर्थिक वर्षमा न्युन बजेट विनियोजन भएकाले ४० करोड बजेट थप गरि तुषरपानी–कोठेधार–टिंकर सडक खण्डलाई छुट्टै परियोजना बनाइ बजेट विनियोजन गर्न माग गरेका छन् ।
यस्तै शनिवार दार्चुलाको सर्वदलिय प्रतिनिधिमण्डलले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । भेटका क्रममा दार्चुलाको उत्तरी क्षेत्र ब्याँस गाउँपालिका–१ मा अध्यागमन कार्यालय स्थापनाका लागि माग गरिएको छ । भने मार्मा गाउँपालिकाको वडा नम्बर ४ र ५ मा बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएकोले यसका लागि राहत, पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि गृहमन्त्रालयको विपद् व्यवस्थापन अन्तर्गत मन्त्रिपरिषद्मा निर्णयका लागि प्रस्ताव पेश गर्न आग्रह गरिएको छ ।
सर्वदलिय प्रतिनिधिमण्डलको भेटमा गृहमन्त्री लेखकले आफ्नो १०० दिनको कार्ययोजनामा दार्र्चुलाको ब्याँसमा अध्यागमन कार्यालय स्थापना गर्ने विषय समावेश गरेको बताउँदै आगामी असोज महिनाभित्रै अध्यागमन कार्यालय स्थापना गरिने आश्वासन दिएको पूर्वमन्त्री एवं सांसद दिलेन्द्र प्रसाद बडूका स्वकीय सचिव केशर सिंह भण्डारीले जानकारी दिए ।
यसैबीच आज अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री, मन्त्रालयका सचिव र नेपाली सेनाका टिंकर सडक हेर्ने अधिकारीसँग भेट गर्दै नेपाली सेनाद्धारा निर्माणाधिन तुषरपानी–कोठेधार–टिंकर सडकखण्ड (७९ किमी) लाई महाकाली कोरिडोरको बजेट शीर्षक ३३७०११०३ बाट अलग गरी छुट्टै बजेट उपशीर्षक अन्तर्गत सेनाद्धारा प्रस्तावित ५ वर्षे कार्ययोजना अनुरुप चालू आर्थिक वर्षमै ४२ करोड ५० लाख बजेट विनियोजनका लागि माग गरिएको छ ।
भेटमा अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्री बजेट थपका विषयमा सकारात्मक रहेको र माग गरिएजति थप्न नसकिएपनि उचित बजेट बिनियोजन गरिने आश्वासन पाएको पूर्वमन्त्री एवं सांसद बडूका स्वकीय सचिव भण्डारीले बताए । चालू आर्थिक वर्षमा टिङ्कर सडकमा ९ करोड बिनियोजन गरिएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?