मालिकार्जुनका जनप्रतिनिधि र कर्मचारीको भ्रमण र अनुगमन खर्च २५ लाख

मालिकार्जुनका जनप्रतिनिधि र कर्मचारीको भ्रमण र अनुगमन खर्च २५ लाख


दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा जनप्रतिनिधि तथा कर्मचारीहरुको अनुगमन तथा भ्रमणमा २५ लाख रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको अनुगमन तथा मुल्याङ्कन शीर्षकमा १० लाख रुपैयाँ र भ्रमण खर्चमा १५ लाख रुपैयाँ विनियोजन गरिएकोमा २५ लाख पूरै खर्च भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले दिएको जानकारी अनुसार अनुगमन मूल्याकंन, सेवाकालिन तालिम, कर्मचारी सरुवा भ्रमण, पदाधिकारी भ्रमण तथा बिशिष्ट व्यक्तिहरुको सत्कार लगायतका क्रियाकलापहरुमा बिनियोजित पूरै बजेट खर्च भएको हो ।
यस्तै गाउँपालिकाले आयोजना गर्ने सार्वजनिक सुनुवाई कार्यक्रमका लागि गत आर्थिक वर्षमा ५ लाख बिनियोजन गरिएकोमा ४ लाख ९८ हजार ५ सय रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

मालिकार्जुन गाउँपालिकाको नेतृत्व गरिरहेका अध्यक्ष हिरा सिंह धामीले सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम बिगत दुई वर्षदेखि आफू संलग्न रहेको दार्चुला विकास संगठन संस्थालाई दिईरहेका छन् । धामी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि मात्रै उनले दार्चुला विकास संगठनको अध्यक्षबाट राजिनामा दिएका थिए । 
मालिकार्जुन गाउँपालिकाले एक वर्षको अवधिमा पत्रपत्रिका छपाई र सूचना प्रकाशनमा ५ लाख ४५ हजार ९ सय ८९ रुपैयाँ खर्च गरेको छ ।

यसैगरी गत आर्थिक वर्षमा जनप्रतिनिधिले सार्वजनिक गाडीभाडामा लिइ प्रयोग गरेको र उक्त गाडी र ३ वटा एम्बुलेन्स संचालनका लागि इन्धन शीर्षकमा विनियोजित १० लाख मध्ये ९ लाख ९७ हजार १ सय २५ रुपैयाँ खर्च गरेको छ । मालिकार्जुन गाउँपालिकामा चार पाङ्ग्रे सवारी साधन छैन् ।
सार्वजनिक गाडीभाडामा लिए वापत गाडीवालालाई भुक्तानी गरेको वार्षिक रकम भने खुलाइएको छैन् ।

आर्थिक वर्ष २०७९/०८० को गाउँपालिकामा महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरिक्षण तथा कार्यालयको ६१ औं वार्षिक प्रतिवेदन अनुसार ३ करोड ७८ लाख बेरुजु देखिएको छ । उक्त प्रतिवेदन अनुसार गाउँपालिकाले गाडीभाडा वापत वर्षमा ३० लाख ७१ हजार ५ सय  रुपैयाँ भुक्तानी गरेको छ । गाउँपालिकाले पूजिगत शीर्षकबाट रु १० लाख गाडीभाडा तिरेको पनि प्रतिवेदनमा उल्लेख छ । पुँजिगत बजेट भनेको गाउँपालिकाको विकासमा खर्च गरिने बजेट हो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *