दार्चुला : चीन जोड्ने दार्चुलाको उत्तरी नाका टिंकर भञ्याङ हुदै ३७ जना व्यापारी तिब्बतको ताक्लाकोट गएका छन् । यहि भदौ १२ गते उनीहरु बन्दोवस्तीका सामानसहित व्यापार गर्न ताक्लाकोट गएका हुन् । कोरोना कालदेखि बन्द रहेको टिंकर नाका खुला भएसँगै पहिलो पटक २०८१ साउन ४ गते ब्याँस गाउँपालिका–१ छाङ्गरु र टिंकरका २७ जना व्यापारी ताक्लाकोट गएका थिए ।
भदौ १२ गते १६ जना महिला र २१ जना पुरुष गरी ३७ जना व्यापारी चीनको ताक्लाकोट गएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । उनीहरुले भारी बोक्न ३३ घोडा, ९८ खच्चर र १९ चौरीगाई÷झुपु साथमा लगेका छन् । यस्तै व्यापार व्यवसायका लागि १६ क्वीन्टल ८० किलोग्राम गुड, २५ क्वीन्टल मिश्री, ४२ पेटी सलाई, फापरको पिठो ४ क्वीन्टल ४० किलोग्राम र बन्दोवस्तीका भाँडाकुडा लगेका छन् ।
ताक्लाकोटमा मिश्री, गुड, फापरको पिठो, जौ, आलु, मुला लगायतको व्यापार राम्रो हुने व्यापारीहरु बताउँछन् । नेपाल–चीन सीमा भएको १ नम्बर स्तम्भबाट ताक्लाकोट पुग्न १५ किलोमिटरको दूरी पार गर्नुपर्छ । चीनले नेपाल सीमा नजिकै (१०० मिटरको दूरीमै) सडक पुगाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?