दार्चुला : दार्चुलामा महाकाली नदीमाथि निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अनुगमन गर्नुभएको छ । बिहीवार साँझ दार्चुला पुगेका राजदूत श्रीवास्तवले शुक्रवार बिहान महाकाली नगरपालिका–८ असिगडामा निर्माण भइरहेको भारतको छारछुम जोड्ने मोटरेवल पुलको अनुगमन गर्नुभएको हो ।
३२ करोड ९८ लाख भारतीय लगानीमा निर्माण भइरहेको १ सय १० मिटर लम्बाईको मोटरेवल पुलको काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माणको काम भारतीय निर्माण कम्पनी पी एण्ड आर ईन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले गरिरहेको हो ।
नेपाल–भारत जोड्ने पुल निर्माणले दुई देश बीचको व्यापारीक, पर्यटकीय र साँस्कृतिक पक्षमा महत्वपूर्ण टेवा पुग्ने भन्दै निर्माण कार्य समयमै सक्न राजदूत श्रीवास्तवले निर्देशन दिए । उनले नोभेम्बर १५ सम्म पुल निर्माणको काम सक्न निर्देशन दिनुभएको छ ।
पुलको दुवैतर्फ ट्राफिक जाँचमा समस्या नआउने गरी संरचना निर्माण र पहुँच मार्ग निर्माण गर्न भनिएको छ । यस्तै पुल निर्माण गर्न थप लागत लाग्ने बताइएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भारत जोड्न दार्चुलामा बन्न लागेको यो पहिलो मोटरेवल पुल हो ।
पुल अनुगमनमा भारतका तर्फबाट पिथौरागढ जिल्लाका उपजिल्ला अधिकारी मन्जित सिंह, पीडब्ल्युडी अधिक्षण अभियंता संजीव राठी, निर्माण कम्पनी पी एण्ड आरका प्रवन्धक दलवीर सिंह, नेपालका तर्फबाट जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, महाकाली कोरीडोर सडक योजनाका ईन्जिनियर दिपक बहादुर विष्ट, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?