दार्चुला : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको मार्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको मार्मा गाउँपालिकामा मन्त्रालयले बुधवार शाखा अधिकृत धर्मेन्द्र जोशीलाई खटाएको हो । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका विभिन्न सय पालिकामा शाखा अधिकृतहरुलाई पदस्थापन गरेको छ ।
यस अघि मार्मा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी २०८० फागुनमा पालिकामा भएको आक्रमण र आगजनी घटनामा अनुसन्धान हुँदा कारवाहीमा परेका थिए । सोही कारण मार्मामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको थियो । मार्मा गाउँपालिकामा खटाइएका जोशी दार्चुलाको महाकाली नगरपालिका–४ घर भएका अधिकृत हुन् ।
पछिल्लो पटक शाखा अधिकृतमा नियुक्त १ सय ६ जनामध्ये १ सय जनालाई विभिन्न पालिकामा खटाइएको मन्त्रालयले जनाएको छ । दार्चुलामा मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकाबाहेक अरु पालिकामा निमित्तकै भरमा कामकाज भइरहेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिकामा अधिकृत नरबहादुर ठगुन्ना र नौगाड गाउँपालिकामा अधिकृत पुष्कर सिंह धामी कार्यरत छन् । यी बाहेक जिल्लाका ६ पालिका निमित्तकै भरमा छन् ।
जिल्लाको ब्याँस गाउँपालिकामा अधिकृत छैटौँ अहेव चन्द्र सिंह कुँवर, दुहुँ गाउँपालिकामा छैटौँ बीर सिंह धामी, महाकाली नगरपालिकामा अधिकृत छैटौँ नर सिंह बडाल, शैल्यशिखर नगरपालिकामा भोजराज भट्ट, लेकम गाउँपालिकामा नारायण दत्त भट्ट र अपिहिमाल गाउँपालिकामा ईन्द्र बहादुर रावल निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका छन् । लेकम गाउँपालिकामा कार्यरत शाखा अधिकृत अर्जुन सुवेदी पनि यहि भदौ २५ गते सरुवा भएर गए संगै त्यहाँ पनि प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको हो ।
देशभर अझै २३ वटा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेका छन् । ती गाउँपालिकामा पनि जतिसक्दो चाँडै प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सहसचिवको दरबन्दी रहेको ६ महानगरपालिकामा नै पदपूर्ति रहेको छ भने सहसचिवकै दरबन्दी रहेको ११ उपमहानगरपालिका मध्ये एउटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।
यस्तै, २ सय ७६ नगरपालिकामा उपसचिवको दरबन्दी रहेकोमा १ सय ४६ नगरपालिकामा पदपूर्ति भइसकेको छ भने १ सय ३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?