दार्चुला : दार्चुला प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिंह धामीले बजेटलाई लिएर असन्तुष्टि बढेको बताएका छन् । शनिवार सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटको छलफलको क्रममा बोल्दै प्रदेश सभा सदस्य धामीले बजेट निर्माणको प्रक्रियाको विषयलाई लिएर असन्तुष्टि जनाएका हुन् ।सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसका प्रमुख सचेतकसमेत रहेका धामीले आफ्नै जिल्लामा कहाँबाट कसरी बजेट गयो भन्ने एकिन हुन नसकेको बताए ।
‘मलाई मेरो पार्टी नेपाली काँग्रेसका जिल्लाका पदाधिकारीहरुले निर्णय गरेर जिल्ला प्रवेशमा रोक लगाएको पत्र पठाएका छन्, धामीले भने,–‘सांसदको भूमिका बजेट ल्याउने हो भन्ने एउटा छाप जनता–जनतासम्म पुगेको छ, तलतल सम्म पुगेको छ । तर, पालिका र आफूले प्रस्तुत गरेको योजना बाइपास भएका छन् ।’ यसरी बजेट निर्माण गर्ने ठाउँ र मान्छे चिन्न नसकिएको उनले बताए ।
उनले पुरानो बजेटको २० प्रतिशत पनि फरक नभएको सुनाए । यस्तै सांसदको भूमिका बजेट निर्माणमा हुने हो भने बजेट निर्माणको प्रक्रियामा सहभागी नगराउँदा यस्तो प्रवृत्ति अझै हुदै जानेमा जोड दिए । बजेटमा भइरहेको अराजकताले प्रदेश संरचनाप्रति वितृष्णा बढेको धामीको भनाई थियो । साथै उनले बजेट अन्यौलताले भावी दिनमा नराम्रो असर पर्ने भन्दै अब सिस्टमको पक्षमा सोच्ने कि नसोच्ने भन्ने चिन्ता बढेको बताए ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले भदौ ३१ गते प्रदेश सभामा चालू आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।
राजनीतिक समीकरण फेरिएपछि तत्कालीन दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि दोस्रो पटक बजेट आएको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?