दार्चुला : दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार दार्चुलाका डिएसपी सिंहसहित १ सय ४३ जना डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी नायव उपरीक्षक सिंहले गत वर्ष भदौ महिनामा दार्चुला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए ।
उनको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाडौँ सरुवा भएको हो । उनको ठाउँमा नेपाल प्रहरी प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन शाखा बनेपा, काभ्रेपलाञ्चोकबाट प्रकाश दाहाल आउने भएका छन् ।
यस्तै अघिल्लो महिना (भदौ १७ गते) मात्रै दार्चुलामा कार्यरत प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको सरुवा भएको थियो । उनको ठाउँमा प्रहरी निरीक्षक कान्ति राज जोशी दार्चुला आएका छन् ।
असोज महिनादेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी ४१ एसपी र १४३ डिएसपीहरुको काज तथा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
डिएसपी सिंहले दार्चुला जिल्लामा शान्ति सुरक्षा, लागू औषध दुव्र्यसन नियन्त्रण र कारवाही, अनैतिक क्रियाकलाप, गुण्डागर्दी, चोरी डकैती/लुटपाट नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?