दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–९ र मालिकार्जुन गाउँपालिका–७ स्थितका महाकाली महिला सशक्तिकरण केन्द्र र समैजि महिला सशक्तिकरण केन्द्रले आफ्नो वार्षिकोत्सव मनाएका छन् । विविध कार्यक्रमका साथ वार्षिक साधारण सभाको आयोजना गरिएको हो । सीडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा सीआरडीएस नेपालद्धारा संचालित ट्रोसा दोस्रो परियोजना अन्तर्गत गठन भएका उक्त महिला सशक्तीकरण केन्द्रहरुले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर लिला चैसिर धामीले जानकारी दिए ।
असोज २२ गते प्रथम साधारण सभाको आयोजना गर्दैै महाकाली महिला सशक्तिकरण केन्द्रका अध्यक्ष हिरा चुनाराले एक वर्षमा भए गरेका कार्यक्रमहरु बारेको प्रतिवेदन प्रस्तुत गरेका थिए । ट्रोसा दोस्रो परियोजनाले महिलाहरुमा सकारात्मक परिवर्तन ल्याउनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै सदस्यहरुलाई जलवायु अनुकुलन सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको र कार्यक्रममार्फत २ वटा पोलीहाउस पनि वितरण गरिएको केन्द्रका सचिव ईश्वरी चैसिरले बताइन् ।
महाकाली महिला सशक्तिकरण केन्द्रको साधारण सभा महाकाली नगरपालिकाका निवर्तमान उपप्रमुख सुना बोहराको अध्यक्षतामा सम्पन्न भएको हो ।
यस्तै असोज २० गते समैजि महिला सशक्तिकरण केन्द्रको साधारण सभा सम्पन्न भएको छ । एक वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । साधारण सभा केन्द्रका अध्यक्ष गोबिन्दी खत्रीकोको अध्यक्षतामा सम्पन्न भएको हो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?