दार्चुला : नेकपा माओवादी केन्द्र दार्चुला कात्तिक ४ गतेदेखि गाउँ केन्द्रीत हुने भएको छ । बुधवार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाले पत्रकार सम्मेलन गर्दै कात्तिक ४ गतेदेखि कात्तिक १३ गतेसम्म पालिका केन्द्रीत हुने जनाएको हो । १० दिने अभियान सञ्चालन गरेर दशैँ, तिहारको शुभकामना आदानप्रदान गर्ने र पालिका बैठकहरु गर्ने माओवादी केन्द्रले बताएको छ ।
जिल्ला सदरमुकाम खलंगामा असोज २९ र ३० गते दुई दिन चलेको जिल्ला समन्वय समितिको बिस्तारित बैँठकले तत्काल गाउँ केन्द्रीत भएर पार्टीका गतिविधि सञ्चालन गर्ने र जनतासँग भेटघाट कार्यक्रम तय गरेको समन्वय समिति संयोजक पदम राज पन्तले जानकारी दिए । १० दिने अभियानमा केन्द्रीय सदस्य, प्रदेश सभा सदस्य, पार्टीका प्रदेश कमिटि सदस्य र जिल्लाका शीर्ष नेताहरु सहभागि हुनेछन् ।
अभियान अन्तर्गत सञ्चालन गरिन लागिएको कार्यक्रमको शुभारम्भ दुहुँ गाउँपालिका–५ बाट हुने जनाइएको छ । कात्तिक ४ गते दुहुँमा कार्यक्रम हुनेछ । कात्तिक ५ गते ब्याँस गाउँपालिका, कात्तिक ६ गते महाकाली नगरपालिका, कात्तिक ७ गते मालिकार्जुन गाउँपालिका, कात्तिक ८ गते लेकम गाउँपालिका, कात्तिक ९ गते शैल्यशिखर नगरपालिका, कात्तिक १० गते मार्मा गाउँपालिका, कात्तिक ११ गते अपिहिमाल गाउँपालिका र कात्तिक १३ गते नौगाड गाउँपालिकामा पुगेर कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ ।
यस्तै बिस्तारित बैठकमा केहि दिन अघि मात्रै दार्चुला ईन्चार्जको जिम्मेवारी पाएका केन्द्रीय सदस्य लक्ष्मण दत्त जोशीलाई सम्मान तथा स्वागत गरिएको संयोजक पन्तले बताए । यसअघि दार्चुला जिल्ला ईन्चार्जको जिम्मेवारी प्रदेश सभा सदस्य लक्ष्मी विकलाई थियो । यस्तै समन्वय समितिमा रिक्त सचिव पद पूर्ति गरिएको छ । सचिवमा प्रदेश कमिटि सदस्य एवं ब्याँस गाउँपालिका उपाध्यक्ष बिनोद सिंह कुँवरलाई मनोनित गरिएको हो ।
संयोजक पन्तका अनुसार माओवादी केन्द्र दार्चुलाले ३ महिने कार्य विभाजन गरेको छ । जसअन्तर्गत मंसिर १० गतेसम्म पार्टी सदस्यता नविकरण र मंसिर १८ गतेसम्म वडा सम्मेलन सम्पन्न गर्ने जनाइएको छ ।
बुधवार सम्पन्न बिस्तारित बैठक माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक पदम राज पन्तको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं दार्चुला ईन्चार्ज लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना, वैकल्पिक केन्द्रीय सदस्य मान बहादुर धामी, जमन सिंह धामीको आतिथ्यता रहेको थियो । यस्तै बैठकमा प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्यहरु, जन वर्गीय संगठन मोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला संयोजकहरुको उपस्थिति रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?