दार्चुला : मालिकार्जुन गाउँपालिका–४ हुनैनाथको मन्दिरमा पूर्वाधार निर्माण र मन्दिरको पहिरो नियन्त्रण कार्यान्वयनको अवस्थाका बारेमा स्थानीयहरु सँग छलफल गरिएको छ । मंगलवार दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिंह धामी, सहरी विकास मन्त्रालय अन्तर्गतको सघन विकास कार्यालय डोटी र वन मन्त्रालय अन्तर्गतको वृहत जलाधार कार्यालय पाटनको प्राविधिक टोलीले निरीक्षण गर्दै स्थानीय सँग छलफल गरेको हो ।
हुनैनाथ मन्दिर पर्यटन पूर्वाधार विकास र मन्दिरको पहिरो नियन्त्रणका लागि चालू आर्थिक वर्षमा १/१ करोड बजेट छुट्याइएको छ । चालू आर्थिक वर्षमा हुनैनाथमा सञ्चालन हुने परियोजना निर्माण र कार्यान्वयनबारे स्थानीय सरोकारवालाहरु सँग प्राविधिक टोलीलाई राखेर छलफल गरिएको प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले बताए । बजेट छुट्याइने तर कार्यान्वयन नहुँने अवस्थालाई ध्यानमा राख्दै विशेष प्राथमिकता र रुचि जोडिएकोले यो योजना कार्यान्वयनका लागि प्रयत्नशील रहेको उनको भनाइ थियो । प्राविधिक टोलीलाई साथमै लिएर पहिरोको अवस्थाको बारेमा निरीक्षण गराई यसका लागि आवश्यक डीपीआर तयार पारी दिन आग्रह गरिएको उनले बताए ।
पहिरो निरीक्षण तथा सरोकारवालासँग छलफल कार्यक्रममा सांसदसहित नेपाली काँग्रेस दार्चुलाका सभापति ललित सिंह बोहरा, जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, नेपाली काँग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, मालिकार्जुन गाउँपालिका सभापति, मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष, वडाका जनप्रतिनिधि, पूर्वाधार विकास कार्यालय डोटी/वृहत जलाधार कार्यालय पाटनका प्रतिनिधि तथा प्राविधिकहरु, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
निर्वाचन क्षेत्रका जनताको अपेक्षा र आवश्यकतालाई ध्यानमा राख्दै आर्थिक वर्ष २०८१/०८२ को लागि सम्बन्धित निर्वाचन क्षेत्रका लागि १ करोड रुपैयाँ भन्दा कम नहुने गरि बढीमा ५ करोडसम्मका योजनाहरु सांसद दिलेन्द्र प्रसाद बडूको सिफारिसमा दार्चुलाको ऊकु-लाली-शेरा सडक अन्तर्गतको बाँकु भीर-लाली खण्ड निर्माणका लागि १ करोड, जिल्ला सदरमुकामस्थित कभर्ड हल पुन:निर्माणका लागि १ करोड, हुनैनाथ मन्दिर पहिरो नियन्त्रण र पूर्वाधार निर्माण कार्यक्रमका लागि १ करोड, जामिर-साङपाङ-ईयरकोट सडक निर्माणका लागि १ करोड र झुस्कु-पाटु झोलुङ्गे पुल निर्माणका लागि १ करोड रुपैयाँका योजना समाबेश गरिएको प्रतिनिधि सभा सदस्य बडूको सचिवालयले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?