दार्चुला : विद्यालयमा विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइ क्रियाकलाप सञ्चालनका लागि शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम शुभारम्भ गरिएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक र प्राविधिक सहयोगमा शिक्षकहरुका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो । बुधवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले तालिमको उद्घाटन गर्नुभयो ।
तालिममा आधारभूत तहमा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धी अभिमुखीकरण भइरहेको छ । तल्लो कक्षाको सिकाइलाई जोड दिदै सिकाइ क्षति न्युनिकरण, आपूरण तथा अभिवृद्धि सहजीकरण र बालबालिकाको सिकाइ निरन्तरता र सुनिश्चिताका विषयमा तालिम केन्द्रीत हुने सामुदायिक विकास केन्द्र शिक्षा अधिकृत नरेश प्रसाद भट्टले जानकारी दिए ।
तालिमको सहजीकरण महाकाली नगरपालिकाका शिक्षा अधिकृत हेमराज जोशीले गरेका छन् । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना र बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रममा जोड दिइएको छ ।
शिक्षा योजना निर्माण र अध्यावधिक, आपूरण र द्रुत सिकाई तथा बालविकास सम्बन्धी कार्यक्रम सञ्चालनमा रहेका छन् । दार्चुलाका ४ पालिका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकामा कार्यक्रम लागू छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?