दार्चुला : घरेलु तथा साना उद्योग कार्यालय दार्चुला र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका कार्यालय प्रमुखको सरुवा भएको छ । बुधवार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको हो । घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाका प्रमुख गंगा कुमारी मगरको डिभिजन वन कार्यालय दार्चुला सरुवा भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीकी मगर घरेलु कार्यालय दार्चुलामा कामकाजमा रहेकी थिइन् । उनी सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को मिति २०७७ असोज २ गतेको निर्णय अनुसार घरेलु तथा साना उद्योग कार्यालय दार्चुला नामाकरण भएपछि हालसम्म कार्यालय प्रमुख रहेकी हुन् । उनले २०७६ भदौदेखि कार्यालय प्रमुखको रुपमा काम गरेकी थिइन् ।
यस्तै जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका प्रमुख डम्बर प्रसाद धितालको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कैलाली सरुवा भएको छ । उनको ठाउँमा डडेल्धुरा कार्यालयबाट रामरथ खरेल आउने भएका छन् । धिताल गत वर्षको भदौ महिनामा दार्चुला आएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाको कार्यालय प्रमुखमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीका हाल डिभिजन वन कार्यालय दार्चुलामा कार्यरत केशव दत्त जोशीलाई खटाइएको छ । खटिएकै निकायबाट तलबभत्ता पाउने गरी अर्को व्यवस्था नभएसम्मका लागि कामकाजमा खटाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेशभरी इन्जिनियरिङ्ग सेवातर्फका ४, वन सेवातर्फ ४, स्वास्थ्य सेवातर्फ १, प्रशासन सेवातर्फ सातौं र आठौं तहका ७, प्रशासन सेवातर्फ चौथो, पाँचौ र छैठौं तहका २८ गरी ४४ जना कर्मचारीको सरुवा गरिएको हो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?