दार्चुला : कात्तिक ५ गते सोमवार दार्चुलामा एक्कासी नेपाल–भारत जोड्ने खलंगा पुल बन्द भयो । जिल्ला सदरमुकाम खलंगाका व्यापारीहरुले उक्त अन्तर्राष्ट्रिय सीमा पुलमा ताल्चा लगाए । सधैजसो नियमित आवागमन भइरहेको यो पुलमा सोमवार मध्यान्ह १२ बजेको समयमा जम्मा भएका व्यापारीहरुले नेपालतर्फ पुलको ढोका बन्द गरी तालाबन्दी गरेका हुन् । पुलमा तालाबन्दी हुँदा आवागमन रोकियो र सयौँ मानिस वारीपारी अड्किए ।
पुलमा तालाबन्दी गर्नुको कारण थियो प्रहरीले व्यापारीका गोदाममा छापा हानी मालसमान बरामद गरेको । आइतवार बेलुकी जिल्ला प्रहरी कार्यालयले सदरमुकाम बजार क्षेत्रको बांगाबगडका दुई पसलमा छापा हानेको थियो । छापा हान्दा ३ लाख ६९ हजार ९१५ मूल्य बराबरको भन्सार छलीको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनायो । सोहीको भोलिपल्ट (सोमवार) बिरोधमा देखिएका उद्योग वाणिज्य संघका अध्यक्षसहितका व्यापारीहरुले मध्यान्हतिर सीमापुल पुगी तालाबन्दी गरे ।
भन्सार काटेको समानमा पनि प्रहरीले छापा हानेर बरामद गर्दै व्यापारी त्रसाइ रहेको उनीहरुले बताए । प्रहरीले सीमापुलको ताल्चा खुलाउन आग्रह गरेसँगै छलफलका लागि बोलाइयो । एउटा संयोग त्यो दिन कस्तो प¥यो भने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरका गणपति हर्कराज पन्त भारतीय बजार धारचुला गएका रहेछन् । उनी फर्कदा पुलमा ताल्चा लागेको थियो । पछि समन्वय गरेर उक्त ताल्चा खोल्न लगाइयो र यसरी सीमापुलमा ताल्चा लगाउन नपाइने भन्दै ताल्चा खोल्न आग्रह गरियो । २ घण्टाको अन्तराल पछि व्यापारीहरुले लगाएको ताल्चा खुल्यो ।
खलंगास्थितको सीमा पुलमा ताल्चा लगाइएको यो पहिलो पटक भने होइन् । यस्तै मनलाग्दी तालाबन्दी त यसअघि पनि भएका छन् । २०७९ मंसिर १८ गते भारतीय पक्षले महाकाली नदीमा पानीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण गरिरहेको भन्दै महाकाली नगरपालिका–४ बंगाबगडबासीले आका्रेश पोख्दै अढाई घण्टा सीमापुलमा तालाबन्दी गरेका थिए । उनीहरुको माग थियो उक्त तटबन्ध निर्माणको कार्य रोक्नुपर्ने ।
यतिमात्रै होइन २०७८ पुष १४ गते नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकर्ताले नेपालप्रति भारतीय हेपाहा प्रवृत्ति बढेको भन्दै बिहान पुल खुल्नुभन्दा पहिले नै ताला ठोके । ताला ठोकेर उनीहरुले त्यहाँबाट कुलेलम हाने । यी माथिका सबै मुद्धामा पुल बन्द गर्नुको औचित्य पुष्टि हुदैन् । दिनहुँ सयौँ, हजारौ नागरिकले आवागमन गर्ने यो सीमापुल बन्द गरिनु नागरिकलाई सास्ती हो । यदि कुनै समस्या सृजना हुन्छ भने त्यसको समाधानका लागि पुल बन्द गर्नु उचित होइन् । दार्चुलाका नागरिकका लागि भारतीय बजार धारचुला, बलुवाकोट लगायत व्यापारीक बजार हुन् । यहाँका कयौँ नागरिकको रोजिरोटी पनि यी बजारमा परिश्रम गरी चलिरहेको छ । धेरै नेपालीहरुको दैनिक उपभोग्य समान पनि भारतीय बजारबाटै उपभोग हुन्छ ।
यसैमा कुरा गरौँ कोरोना माहामारी समयको । कोरोनाको समयमा सीमा पुल बन्द हुँदा हजारौँ नागरिक अलपत्र परे । दुई देशको समन्वयमा पुल खुला गरी उनीहरुले आवागमन सहजता पाए । तर, कोरोनाको महामारीका बीच अन्तः सीमानाका बन्दै गर्नुपर्यो । छिमेकी भारत जोड्ने जिल्लाका सबै नाका लामो समय बन्द भए । त्यो बेला आर्थिक मन्दीको पनि सामना गर्नुपर्यो । लामो समय सीमानाका बन्द हुँदा भारतीय बजारमा परनिर्भरता रहेका यहाँका स्थानीय र व्यापारीहरु यही उद्यम र व्यापारिक क्रियाकलाप सञ्चालन गर्न थाले ।
नभन्दै कोरोना मथ्थर भएपछि नाका खुल्ने सुरसार हुन थाल्यो । नाका खुल्ने भएपछि हजारौ स्थानीय नागरिक सीमा क्षेत्रमा देखिन थाले । उनीहरुको भीड भारतीय बजार जान तत्पर थियो । खलंगा झोलुंगे पुलमा थेगी नसक्नु भीड हुनथाल्यो । यो त एक परनिर्भरताको उदाहरण मात्रै हो । भारतीय बजारको परनिर्भरता सँगै नेपालीहरुको व्यापारीक, साँस्कृतिक, वैवाहिक लगायतका सम्बन्ध छन् । भारतीय नागरिक पनि नेपालमा समान किनमेल र घुरफिरका लागि आउँछन् । सीमानाकामा सहज परिस्थितिका भयो भने उनीहरुको पनि आवागमन बढ्छ ।
अन्तर्राष्ट्रिय सीमा पुल दुबै देशका प्रशासनको सहमति र सहकार्यमा नागरिकको सहजताका लागि सञ्चालन भएको हुन्छ । तर, मनलाग्दी सीमापुल बन्दले नागरिकलाई सास्ती र दुई देशबीचको सम्बन्धमा चिस्यान ल्याउँछ ।
घरको ढोका वा दैलो बन्द गर्दाका अवस्था र आवश्यकताको पनि कुरो हुन्छ । यो त दुई देश जोड्ने र व्यापारीक नाकाको पुल हो । यदि पुल मर्मत गर्नुपरे पनि दुबै देशको प्रशासन र नागरिकस्तरलाई पूर्व जानकारी दिनुपर्छ । अहिले सम्मका घटनाक्रम हेर्ने हो भने सीमापुल बन्द हुँदा प्रहरी प्रशासन निरीह बन्ने गरेको छ । उनीहरुकै निरीहको फाइदाले सीमापुल बेलाबेला बन्द हुन्छ । अहिलेसम्म मनलाग्दी सीमापुल बन्द गर्नेलाई कारवाहीको डन्डापनि चलाइएको छैन् । यदि कुनै समस्या सृजना भयो भने दुबै देशका प्रशासनबीच सहमति खोजेर समस्या समाधान तर्फ जानुपर्छ न कि मनलाग्दी पुल बन्द गर्नुपर्छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?