दार्चुला : सरकारले दार्चुलाको सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ । कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु दार्चुला खारेज गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु, दार्चुला खारेज गर्ने निर्णय भएको सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सीमा प्रशासन कार्यालय व्याँस, छाङ्गरुका नामले खोलिएको कार्यालयको कामकाज जिल्ला सदरमुकाम खलंगाबाट हुँदै आएको छ । यसले व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकर जान बहुयात्रा अनुमति पास दिदै आएको छ । नेपालतर्फ बाटो नहुँदा भारतीय मार्ग प्रयोग गर्दै व्याँस जानुपर्ने बाध्यता छ । भारतले अनुमति (पास) नभइ व्याँस–१ को क्षेत्र छिर्न दिदैन् ।
सीमा प्रशासन कार्यालय खारेज भएसँगै अब अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर, दार्चुला स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने पनि निर्णय गरिएको छ ।
यसअघि गृहमन्त्री रमेश लेखकले दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र टिंकरमा अध्यागमन कार्यालय खोल्ने तयारी रहेको बताएका थिए । सोही अनुसार व्याँस गाउँपालिका–१ टिंंकरमा सरकारले अध्यागमन कार्यालय खोल्न लागेको जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?