भाडादर चर्को भएको भन्दै समायोजनका लागि अनेरास्ववियुको प्रशासनलाई ज्ञापन

भाडादर चर्को भएको भन्दै समायोजनका लागि अनेरास्ववियुको प्रशासनलाई ज्ञापन


दार्चुला : जिल्लाका विभिन्न रुटमा चल्ने सवारीसाधनहरुले यात्रुबाट चर्को भाडा लिइरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले प्रशासनलाई ज्ञापन बुझाएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई ध्यानार्षणसहितको ज्ञापन बुझाउँदै भाडादर समायोजनका लागि माग गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

मुख्यगरी पक्की सडकखण्ड दार्चुला–गोकुलेश्वर र गोकुलेश्वर–लटिनाथसम्मको भाडादर चर्को भएको अनेरास्ववियुले ज्ञापनमार्फत भनेको छ । छोटो दूरीमा सञ्चालित सवारीसाधनहरूले दार्चुला–देखि गोकुलेश्वरसम्म ५०० रुपैयाँ भाडा लिने गरेका छन् । यस्तै गोकुलेश्वरदेखि मार्मा गाउँपालिकाको लटिनाथसम्म पनि ५ सय भाडा लिने गरिन्छ ।

अनेरास्ववियुले बुझाएको ज्ञापनमा भनिएको छ– ‘जिल्लाका विभिन्न रुटमा चल्ने यातायातका साधनले मनपरी भाडा असुलि रहेका छन् । मुख्यगरी गोकुलेश्वरदेखि लटिनाथसम्मको २७ किलोमिटर सडकमा त्यसमा पनि १८ किलोमिटर कालोपत्रे भइसकेकोमा डेढ घण्टा समय लाग्ने सडकखण्डमा ५ सय भाडा तिर्नुपर्छ । यस्तो मनपरी भाडा असुल्ने कार्य बन्द गरी वैज्ञानिक भाडादर कायम गर्न र कार्यान्वयनमा ल्याउन माग गर्दछौँ ।’

यस्तै जिल्लाको दुहुँ सडकखण्डको खलंगादेखि चल्लेगाडासम्मको करिब १८ किलोमिटरमा ३ सय रुपैयाँ भाडा लिने गरिएको छ ।
२०८० जेठमा जिल्लामा भाडादर निर्धारण गरिएकोमा त्यसयता भाडादर समायोजन हुन सकेको छैन् । अहिले डिजेल तथा पेट्रोलको मूल्य घट्दासमेत पुरानै भाडादर कायम छ । पुरानो कायम गरिएको भाडादरसमेत कार्यान्वयन नभई त्यो भन्दा बढी लिने गरिएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *