दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ को राष्ट्रिय मावि ठिङमा शैक्षिक अभिमुखीकरण कार्यक्रम गरिएको छ । राष्ट्रिय मावि ठिङको आयोजना तथा मन्थली मावि रामेछापका सहायक प्रधानाध्यापक चन्द्र सिंह धामीको संयोजनमा बुधवार शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
`समाज रुपान्तरण तथा शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकको भूमिका´ विषयक एक दिने वृहत शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको स्थानीय समेत रहेका मन्थली मावि रामेछापका सहायक प्रधानाध्यापक चन्द्र सिंह धामीले जानकारी दिए ।
कार्यक्रममा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामी, दार्चुला प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्याण सिंह धामी, निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, मालिकार्जुन गाउँपालिका नम्बर १, २ र ३ का जनप्रतिनिधि, उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश थापा, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयराज पन्त, महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशी, छन्नातिंकरी कन्या मावि खलंगाका प्रधानाध्यापक गिता कुँवर, गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, विव्यस अध्यक्ष, शिक्षक–अभिभावक संघका अध्यक्ष, स्थानीय वुद्दिजीवी, शिक्षक विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले शैक्षिक उन्नयनका लागि अभिभावकहरुमा जागरुकता हुनु जरुरी रहेको बताउँदै असल अभिभावकत्व निर्वाह गर्न आग्रह गरे । कार्यक्रम राष्ट्रिय मावि ठिङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीत सिंह धामीको अध्यक्षता तथा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको प्रमुख आतिथ्यतामा भएको हो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?