जीविकोपार्जनमा सशक्त बन्दै महिला

जीविकोपार्जनमा सशक्त बन्दै महिला


दार्चुला : सीमा नदी महाकाली किनारका महिलाहरु जीविकोपार्जनमा सशक्त बन्दै गएका छन् । सीडाको आर्थिक तथा अक्सफार्म नेपालको प्राविधिक सहयोगमा सीआरडीएस नेपाल दार्चुलाले जिल्लामा ट्रोसा दोस्रो परियोजना अन्तर्गत महिलालक्षित विभिन्न जीविकोपार्जनका क्षेत्रमा काम गर्न थालेपछि यहाँका महिलाहरु सशक्त बन्दै गएका हुन् ।

दार्चुला जिल्लाका ५ पालिकामा ट्रोसा दोस्रो परियोजना लागू छ । जसअन्तर्गत १० वटा महिला आर्थिक सशक्तिकरण केन्द्र गठन भएका छन् । गाउँ–गाउँमा गठन भएका केन्द्र (समूह) मा आवद्ध महिलाहरु सामाजिक तथा आर्थिक रुपमा सशक्तिकरणको बाटोमा लम्किरहेको ट्रोसा दोस्रो परियोजनाका संयोजक मान सिंह कार्कीले जानकारी दिए ।

यस परियोजनाले सामाजिक, आर्थिक सशक्तिकरणका साथै जीविकोपार्जन र जलवायु अनुकुलनका क्षेत्रमा काम गरिरहेको छ । महिला आर्थिक सशक्तिकरण केन्द्रमा आवद्ध महिलाहरुले जीविकोपार्जनका विभिन्न क्षेत्रमा काम गरिरहेको कार्यक्रम संयोजक कार्कीले बताए ।

जिल्लाको महाकाली नगरपालिका–९ चुच्चैका महिलाहरु महाकाली महिला आर्थिक सशक्तिकरण केन्द्र नामक समूह निर्माण गरी व्यवसायिक कृषि खेती गरिरहेका छन् । उनीहरुले समूहमा मिलेर अहिले टमाटर, बन्दा र काउली खेती गरिरहेका छन् । कार्यक्रममार्फत पोलिहाउस खरिद गरी त्यसमा टमाटर फलाइरहेको महाकाली महिला आर्थिक सशक्तिकरण केन्द्र चुच्चैका गोबिन्दी बोहराले बताइन् । यस्तै सोही ठाउँकी बसन्ती चुनारले पनि पोलिहाउस भित्र टमाटरका बोट लगाएकी छिन् । उनले टमाटर सँगै काउँली र बन्दा पनि मेहनतका साथ फलाइरहेकी छन् ।

यस्तै सोही कार्यक्रममार्फत महाकाली नगरपालिका–८ काँकडामा पनि महिलाहरु व्यवसायिक कृषि खेती बिस्तारमा लागेका छन् । समूहमा आवद्ध उनीहरुले टमाटर र आलू खेती गरिरहेका छन् । १० समूह मध्ये पहिलो चरणमा ४ समूहलाई बीउबिजन र पोलिहाउस प्रदान गरिएको छ । जसमा ४ ओटा समूहका २/२ जना गरी ८ जनालाई पोलिहाउस र ३२८ जनालाई बीउ बिजन वितरण गरिएको छ ।

यसैबीच कात्तिक २२ गते परियोजना अन्तर्गत सशक्तिकरण केन्द्रमा आवद्ध महिलाहरुले गरिरहेको व्यवसायिक कृषि खेतीको जिल्लास्तरीय सरोकारवाला निकायले अनुगमन गरेका छन् । अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, महाकाली नगरपालिका उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख गुमानी दत्त पन्त, महाकाली नगरपालिकाका कृषि प्राविधिक, कृषि ज्ञान केन्द्रका कर्मचारी र ट्रोसा परियोजनाका कर्मचारी लगायत थिए । अनुगमनका क्रममा कृषि प्राविधिकहरुले तरकारी खेतीमा रोग किरा नियन्त्रण बारे प्राविधिक ज्ञानसमेत दिएका थिए ।

अहिले महिलाहरु आफैमा सशक्त बन्ने प्रयत्नमा छन् । कुनै समय गुमनाम जस्तै भइरहेका महिलाहरु परियोजना अन्तर्गत समूहमा जोडिएपछि धेरै कुराको जानकारी थाहा पाउने र आयआर्जन तथा स्वरोजगारमूलक व्यवसायमा संलग्न हुन थालेका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *