ऐतिहासिक जोलजिबी मेला महोत्सवको उद्घाटन

ऐतिहासिक जोलजिबी मेला महोत्सवको उद्घाटन


दार्चुला : मालिकार्जुन गाउँपालिका–७ मा लाग्ने ऐतिहासिक जोलजिबी मेलाको उद्घाटन गरिएको छ । ऐतिहासिक जोलजिबी मेला महोत्सवको एक औपचारिक कार्यक्रमका बीच शनिवार पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले उद्घाटन गर्नुभएको हो । ‘ऐतिहासिक जोलजिबी मेला हाम्रो शान, कला संस्कृति जगेर्ना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको मेला महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य बडूले परापूर्व कालदेखि हुँदै आएको जोलजिबी मेला विशुद्ध व्यापारीक र साँस्कृतिक मेला भएको भन्दै ऐतिहासिक एवं परम्परागत मेलालाई निरन्तरता दिई अब आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । उनले भने– ‘यो मेला व्यापारको लागि प्रख्यात थियो । ठाउँ–ठाउँबाट व्यापारीहरु यहाँ व्यापार गर्न आउथे । घोडाको व्यापार पनि उस्तै राम्रो हुन्थ्यो । स्थानीयले उत्पादन गरेका उत्पादन विक्री वितरण हुन्थ्यो । तर, अहिले यो परम्परा विस्तारैलोप हुँदै गएको छ । ऐतिहासिक सांस्कृतिक परम्परालाई अझै उजागर गर्न सके यसको महत्व रहन्छ ।’
यस्तै उनले जोलजिबी मेलाको सम्बन्ध अन्तर्राष्ट्रिय व्यापार सँग सम्बन्धित रहेकाको भन्दै व्यापार व्यवसाय अझै व्यवस्थित गर्न नेपाल–भारत जोड्न झोलुङ्गे पुल निर्माण गरिएको बताए । “अहिले नेपाल–भारत जोड्ने मोटरेवल पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । यसले पनि व्यापारमा एक नयाँ आयाम थप्छ ।’ उनले भने ।

यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिंह धामीले जोलजीवी काली र गोरी नदीको संगम भएकाले यो मुख्य तिर्थस्थल भएको बताए । ऐतिहासिक जोलजिबी मेलाको साँस्कृतिक, व्यापारिक र आध्यात्मिक महत्वलाई बचाउनु पर्ने उनको भनाई थियो । यस्तै उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले जोलजिवी मेलाको महत्व छुट्टै रहेकाले यसको निरन्तरता र विकासका लागि तीन वटै सरकारले सहयोग गर्नुपर्ने औल्याए । पर्यटनको क्षेत्रमा विकास गर्न सकेमा मेलाको आकर्षण र आर्थिक समृद्धि हुने उनले बताए ।

उद्घाटन कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, शैल्यशिखर नगरपालिकाका प्रमुख बिजय सिंह धामी, व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामी, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं निर्वतमान मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, नेकपा एमालेका प्रदेश कमिटी सदस्य उमेश सिंह खत्री, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाका संयोजक प्रेम पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बहादुर चन्दले प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अतिथिहरुलाई बाजाँगाजाँसहित महोत्सव स्थलसम्म स्वागत गरेका थिए ।
५ दिनसम्म चल्ने साँस्कृतिक महोत्सव मेलामा कृषि प्रदर्शनी, जिल्लास्तरीय नृत तथा गायन प्रतियोगिता लगायत साँस्कृतिक कार्यक्रम संचालन हुने आयोजक मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।

साँस्कृतिक महोत्सव मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीको अध्यक्षता, प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता र सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिंह धामीको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, शैल्यशिखर नगरपालिकाका प्रमुख बिजय सिंह धामी, व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रनिधि, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्थानीय नागरिक लगायतको उपस्थिति रहेको थियो ।
नेपाल–भारत सीमा क्षेत्र जोलजिबी र जौलजिबी बजारमा हरेक वर्ष साँस्कृतिक तथा व्यापार मेला लाग्दै आएको छ ।

महाकाली र गोरी नदीको संगम जोलजिबीमा नेपाल र भारत दुबैतर्फ यो मेला लाग्ने गरेको हो । सन् १८७१ मा भारतको अस्कोटका तत्कालीन राजा पुस्कर पालले जोलजिबीमा ज्वलेश्वर मन्दिरको स्थापना गरि मेलाको सुरुवात गरेको बताइन्छ । सोही सम्झनामा हरेक वर्ष मङ्सिर १ गते देखि जोलजिबी मेला लाग्दै आएको छ । यस्तै मेला अवधिभर नेपाल–भारत जोड्ने जोलजीबी पुल राती साढे १० बजेसम्म खुला रहने जनाइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *