दार्चुला : बुधवार नेपाली काँग्रेस दार्चुलाले पत्रकार सम्मेलन आयोजना ग¥यो । पत्रकार सम्मेलनका लागि प्रमुख वक्ताका रुपमा दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, काँग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडू थिए । संघीय निर्वाचन भएको दुई वर्ष बितेको छ । सांसद बडूले आफूले चुनाव जितेको आज ठीक दुई वर्ष भएको भन्दै यो अवधिमा आफूले गरेका काम कारवाही र प्रगतीबारे जानकारी गराउने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै बडूले निर्वाचितका २ वर्ष अथक मेहनत संसदमा गरिएको बताए । जिल्लाको विकास निर्माणका सवाल र जनजीविकाका सवालमा आफूले संसदमा सधैं बोलेको धारणा राखे । मुख्यगरी दार्चुला–टिंकर सडक निर्माणको विषयलाई लिएर आवश्यक बजेट र पाँच वर्षे कार्ययोजनाका साथ सम्पन्न गर्ने प्रतिवद्धता गराउन बडूले संसदबाट सरकारलाई घचघच्याइ रहे भने रणनीतिक महत्वको उक्त सडकमा बजेट नछुट्याएपछि संसदको रोष्टममै मौन धारणसम्म गर्न भ्याए ।
बडूले लामो समयदेखि खुल्न नसकेको चीन जोड्ने टिंकर नाका निक्कै पहल र प्रयासमा पराम्परागत झै खुलेको बताए । यस्तै महाकाली कोरिडोरमा गाभिएको टिंकर सडकमा बजेटको अभाव हुने र समयमै काम नहुने प्रवृतिका लागि छुट्टै बजेट र शीर्षकका लागि ठूलो मेहनत र पहल रहेको बताए ।
सेनाले निर्माण गरिरहेको ७९ किमी (तुसरपानीदेखि टिंकरसम्म) सडकलाई छुट्टै योजना र शीर्षकमा बजेट विनियोजन हुनुपर्ने माग सहित निर्णय गराउन आफू सफल भएको उनले बताए । आगामी आर्थिक वर्षबाट उक्त निर्णय कार्यान्वयनमा आउने बडूको भनाई थियो ।
केन्द्रमा सरकार फेरिएसँगै यहाँबाट काँग्रेस, एमाले र माओवादीका नेताहरुको संयुक्त रुपमा गएको डेलिगेसन र गराएको ध्यानाकर्षण सम्बोधन हुने विश्वास आफूले लिएको उनले बताए ।
यस्तै बडूले ५ करोड जिल्लाका ५ योजनाका लागि छुट्याइएको बताए । उनका अनुसार उकु–लाली–शेरा सडक खण्डको बाँकु भीर लाली खण्डमा सडक निर्माणका लागि १ करोड छुट्याइएको छ । यस्तै जिल्ला सदरमुकाम खलंगामा खेलकुद कभर्ड हल निर्माण, हुनैनाथ मन्दिर पहिरो नियन्त्रण, जामिर–साङपाङ ईयरकोट सडक निर्माण र अपिहिमालको झुस्कु–पाटु झोलुंगे पुल निर्माणका लागि १/१ करोड बजेट विनियोजन भएको छ । यी योजना निर्मा कार्यको तीव्रताका लागि मन्त्रालयगत प्राविधिकहरुलाई ल्याएर डीपीआरमा खटाएको प्रतिनिधि सभा सदस्य बडूले बताए ।
यस्तै सडक सञ्जालले नजोडेको अपिहिमाल गाउँपालिकामा सडक निर्माणका लागि बजेटको सुनिश्चिताको पहल भएको बताए ।
मकरीगाड–खण्डेश्वरी सडकका लागि अहिले भौतिक मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग मन्त्रालयबाट १/१ करोड गरी ३ करोड सुनिश्चित भएको छ । गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका संघीय सरकारले ट्याक खोल्ने कार्य अगाडी बढाउने बडूले प्रतिवद्धता जनाए । यस्तै कोरिडोरको धनथला सडकका लागि डीपीआर र डिजाइनको काम अगाडी बढेको पनि बताए । जिल्लाको समग्र विकासका लागि देखिने काममा आफू दृढ रहेको उनले बताए ।
साथै महाकाली नगरपालिका–८ मा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरवेल पुल दुई देशको आर्थिक तथा व्यापारिक हिसाबले महत्वपूर्ण भएकाले जतिसक्दो चाँडो निर्माण सम्पन्न गराउने चरणमा रहेको औल्याए ।
यस्तै भारतीय राजदुतावासमार्फत गत वर्ष जिल्लाको व्याँस गाउँपालिका र शैल्यशिखर नगरपालिकामा विद्यालय भवन परेको बताउँदै यस वर्ष पनि लेकम गाउँपालिकाको हुनैनाथ मावि रातामाटा र मावि कुणीका लागि आवश्यक प्रक्रिया अगाडी बढेको, इसिमोड सँगको साझेदारीमा अपिनाम्पा संरक्षण क्षेत्रभित्र बेरोजगार युवाहरुका लागि ट्रेकिङ गाइड, टुरिष्ट गाइड र होमस्टेका लागि तालिम दिने गरी कार्ययोजना बनेको बताए ।
यसैवर्ष अपिहिमाल गाउँपालिका खण्डेश्वरीको घुषादेखि अपि बेस क्याम्प सम्म जाने ट्रेकिङ रुटका लागि ८ करोड बढीको ठेक्का भएको छ । प्रतिनिधि सभा सदस्य बडूले जिल्लाको विकास निर्माणका सवालमा सधैं अग्रसर हुने बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?