ब्याँस र दुहुँमा हुलाक कार्यालय स्थापना

ब्याँस र दुहुँमा हुलाक कार्यालय स्थापना


दार्चुला : नेपाल सरकारको ‘एक पालिका एक हुलाक’ नीतिअनुसार दार्चुलाको ब्याँस र दुहुँ गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । बुधवार जिल्लाको ब्याँस गाउँपालिकामा स्थापना गरिएको हुलाक कार्यालय बिहिवार दुहु गाउँपालिकामा पनि स्थापना गरिएको हो ।

बुधवार ब्याँस गाउँपालिका-४ सुन्सेरामा हुलाक कार्यालयका खरिदार कल्याण सिंह कुवरको अध्यक्षतामा ब्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीको प्रमुख आतिथ्यता, गाउँपालिकामा उपाध्यक्ष बिनोद सिंह कुवरको विशिष्ट आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिंह कुवर, गाउँपालिकाका प्रवता एवं वडा नम्बर ३ का अध्यक्ष उपेन्द्र सिंह धामी, जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामी, खरिदार तर्क राज बिष्ट, गाउँपालिकाका कर्मचारी, हुलाकका कर्मचारीको उपस्थितिमा एक कार्यक्रमका बीच हुलाक कार्यालयको स्थापना गरिएको हो ।

यस्तै दुहुँ गाउँपालिकामा बिहिवार जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामीको अध्यक्षतामा गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालको प्रमुख आतिथ्यता, उपाध्यक्ष शान्ति बमको विशिष्ट आतिथ्यतामा प्रमुख  प्रशासकीय अधिकृत वीर सिंह धामी, गाउँपालिकाका कर्मचारी र हुलाकका कर्मचारीको उपस्थितिमा एक कार्यक्रमका बीच दुहुँ गाउँपालिका-२ हिकिलामा कार्यालय स्थापना गरिएको हो ।

पालिकास्तरीय हुलाक कार्यालयमा खरिदारको नेतृत्वमा कर्मचारी परिचालन गरिएका छन् । विगतमा इलाका र अतिरिक्त कार्यालयका रूपमा रहेका हुलाक कार्यालयलाई अब स्थानीय तहमा पालिका हुलाक कार्यालयका रुपमा सञ्चालन गरिन लागिएको हो । दार्चुलामा १० इलाका र ३२ अतिरिक्त हुलाक कार्यालय रहेका थिए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *