दार्चुला : कानूनले ‘बिहेबारी बीस वर्ष पारी’ भनेपनि दार्चुलामा २० वर्षमुनि नै सुत्केरी हुने संख्या धेरै छ । यहाँका १४ प्रतिशत महिला २० वर्षमुनि नै सुत्केरी भइरहेका छन् । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा २० वर्षमुनिका १४ दशमलव ३ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराएका छन् ।
गत आर्थिक वर्षमा दार्चुलामा ७७ दशमलव ८ प्रतिशत संस्थागत सुत्केरी रहेकोमा १४ दशमलव ३ प्रतिशत २० वर्षमुनिका महिला रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १० प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा १२ दशमलव ६ प्रतिशत सुत्केरी २० वर्षमुनिको छ । यसरी हेर्दा बिगत तीन वर्षदेखि २० वर्षमुनिको सुत्केरी घटेको अवस्था छैन् ।
कम उमेरमै विवाह गर्दा बाल सुत्केरी बढ्दै गएको तथ्यांकले देखाएको छ । स्वास्थ्य संस्थामा दर्ता तथ्यांकले १७ वर्षदेखि नै महिलाहरु आमा बन्ने गरेको पाइएको छ । जिल्लाको दुहुँ गाउँपालिकामा १७.७ प्रतिशत, महाकाली नगरपालिकामा ८.३ प्रतिशत, नौगाड गाउँपालिकामा २१.६ प्रतिशत, अपिहिमाल गाउँपालिकामा १३.१३ प्रतिशत, मार्मा गाउँपालिकामा १२.७ प्रतिशत, शैल्यशिखर नगरपालिकामा १५.७ प्रतिशत, लेकम गाउँपालिकामा २५ प्रतिशत र मालिकार्जुन गाउँपालिकामा १६.६ प्रतिशत महिलाले संस्थागत सुत्केरी गराएका छन् ।
बाल सुत्केरीले प्रजनन सम्बन्धी जटिलता बढ्ने गरेको स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत कुँवरले बताए । यस्तै उच्च रक्तचाप, प्री–ईक्लाम्पसिया र प्रसवको समयमा समस्याहरु बढ्ने जोखिम हुन्छ । किशोरी आमाले जन्म दिने शिशु प्रायः कम तौलका र अस्वस्थ हुन्छन् ।
किशोरी गर्भवती हुनुले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने, घरेलु हिंसाको जोखिम बढ्ने र यसको कारण मातृ तथा बाल मृत्युदर बढ्ने वरिष्ठ जनस्वास्थ्य अधिकृत कँुवरले बताए । यो दर घटाउनका लागि अभिभावक, समुदाय र सरकारको महत्वपूर्ण भूमिका हुने उनले औल्याए ।
अभिभावकले आफ्ना छोराछोरीलाई शिक्षा प्राप्त गर्न प्रोत्साहित गर्नुपर्ने, सुरक्षित यौन व्यवहारका बारेमा खुल्ला संवाद गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र स्थानीय जनप्रतिनिधि, बौद्धिक वर्ग र समुदायले जनचेतना फैलाउने र यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने उनको तर्क छ ।
यस्तै बालविवाहविरुद्धका कानूनी प्रावधानहरुको कडाईका साथ कार्यान्वयन गर्ने, किशोरीहरुको अधिकारको संरक्षण गर्ने, शिक्षा प्रणालीमा सुधार ल्याउने र किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको पहुँचलाई बढाउने कार्यमा सबै तहका सरकार लाग्नु गर्ने उनले बताए ।
१९ प्रतिशतले प्रोटोकल अनुसार गर्भ जाँच गराउँदैनन्
दार्चुलामा १९ प्रतिशत महिलाले प्रोटोकल अनुसार गर्भ जाँच नगराउने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार ८१ प्रतिशत महिलाले मात्र चार पटक गर्भ जाँच गर्ने गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा चार पटक गर्भ जाँच गराउने प्रतिशत ८१ दशमलव ४ रहेको छ । आर्थिक वर्ष २०७९/८० मा चार पटक गर्भ जाँच गराउने प्रशिशत ७७ दशमलव ४ रहेको थियो ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा त्यो भन्दा कम ६७ दशमवल २ प्रतिशतले मात्रै चार पटक गर्भ जाँच गराएका थिए । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी महाकाली नगरपालिकामा ९७ दशमलव ५ प्रतिशत गर्भवती महिलाले गर्भ जाँच गराएका छन् भने सबैभन्दा कम जिल्लाको शैल्यशिखर नगरपालिकामा ५० दशमलव २ प्रतिशतले जाँच गराएका छन् ।
यस्तै पहिलो पटक २० वर्ष मुनिका गर्भ जाँच गराउने महिलाको प्रतिशत गत आर्थिक वर्षमा १२ दशमलव ७ रहेको छ । महिला गर्भवती भएपछि प्रोटोकल अनुसार चौथो, छैटौँ, आठौँ र नवौँ महिनामा गर्भ जाँच गराउनुपर्ने हुन्छ । तर, दार्चुलामा अझै १९ प्रतिशत महिलाले प्रोटोकल अनुसार गर्भ जाँच गराउने गरेका छैनन् । अब नयाँ परिमार्जित प्रोटोकल अनुसार गर्भवती जाँच कम्तीमा पनि ८ पटक गर्नुपर्ने भएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?