भारतीय एक्साभेटर महाकाली नदी हुँदै नेपालतर्फ पुगेपछि विवाद

भारतीय एक्साभेटर महाकाली नदी हुँदै नेपालतर्फ पुगेपछि विवाद


दार्चुला : महाकाली नदीमा तटबन्ध निर्माण कार्यका लागि भारतीय एक्साभेटर नदी हुँदै नेपालतर्फ पुगेपछि दार्चुलामा विवाद भएको छ । आइतवार बिहान साढे ११ बजेतिर निर्माण कार्य गर्न बाटो पन्छाएर नेपाली भूभागतिर प्रवेश गरेपछि विवाद भएको हो । भारतीय एक्साभेटर नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दाहरु आक्रोशित बने ।

भारतीय ठेकेदारको एक्साभेटर अनुमतिबेगर नेपालतर्फ प्रवेश गरेपछि नियन्त्रणमा लिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । एक्साभेटर नेपाली क्षेत्रमा प्रवेश गर्ने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरीले चालक र एक्साभेटरलाई नियन्त्रणमा लिएको उनले बताए ।

संयोगबस, आइतवार बिहान बसपार्क क्षेत्र पुगेका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखले भारतीय एक्साभेटर महाकाली नदीमा देखेपछि प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक निर्देशन दिई सो क्षेत्रमा खटिन आदेश दिएका थिए । सुरक्षाकर्मी घटनास्थल पुगेपछि चालकलाई थप अगाडी बढ्नबाट रोकेका हुन् । त्यसपछि स्थानीयको भीड बढेको थियो । स्थानीय जमा भएपछि केहि समय त्यो क्षेत्र तनावग्रस्त भयो । स्थानीयहरुले भारतीय पक्षको मनपरी प्रवृति सँधै देख्न पाइने भन्दै उक्त एक्साभेटर नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने बताइरहेका थिए ।

महाकाली नदीमा बाटो पन्छाएर नेपालतर्फको नदी किनार भएर आफ्नो क्षेत्रको तटबन्ध निर्माण क्षेत्रमा जान खोजेको भारतीय एक्साभेटरका चालक भाष्कर पाठकले बताए । नदी किनार आउन नमिल्ने कुरा आफूलाई जानकारी नभएको उनको भनाई थियो ।

एक्साभेटरलाई आगामी दिनमा बिनाअनुमति प्रवेश गर्न नपाइने र अनुमति लिनुपर्ने कुरालाई मध्यनजर गरेर धेरै समय नियन्त्रणमा लिई पछि समन्वय गरेर फिर्ता पठाइएको प्रजिअ जोशीले बताए ।

भारतले अहिले महाकाली नगरपालिका–५ नमस्कार, गल्फै र महाकाली नगरपालिका–४ बसपार्क क्षेत्रको महाकाली नदी किनारमा तटबन्ध निर्माणको कार्य गरिरहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *