केन्द्रीय सरकारलाई व्याँस गाउँपालिकाका तीन ज्ञापन

केन्द्रीय सरकारलाई व्याँस गाउँपालिकाका तीन ज्ञापन


दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले केन्द्रीय सरकारलाई तीन वटा ज्ञापन बुझाएको छ । बिहीवार गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले परराष्ट्र मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँलाई व्याँसको समस्या समाधानका लागि ज्ञापन बुझाएका हुन् ।

.परराष्ट्र मन्त्रालयलाई व्याँस गाउँपालिका–१ छाङरु र तिंकर गाउँ जान त्यहाँका स्थानीयहरुलाई नेपालतर्फ बाटो नभएकाले भारतको बाटो प्रयोग गर्न दिई बैशाखदेखि कात्तिक मसान्तसम्मका लागि बहुयात्रा अनुमति दिनुपर्ने माग गरिएको छ । छाङरु र तिंकर गाउँका बासिन्दा गर्मिका ६ महिना गाउँमै बस्ने र हिउँदका ६ महिना जिल्ला सदरमुकाम खलंगामा बसाइ सर्ने गर्छन् । उनीहरु तलमाथि बसाइ सर्दा भारतसँग बहुयात्रा अनुमति लिने गर्छन् ।

यस्तै छाङरु र टिंकर गाउँसम्म पुग्ने बाटो निर्माणका लागि स्काभेटर भारतको भूमि भएर व्याँस गाउँपालिका–१ सितापुलबाट ढुवानी गर्नुपर्ने भएकाले यसका लागि आवश्यक समन्वय गरिदिन भनिएको छ । यस्तै टिंकरमा अध्यागमन कार्यालय स्थापना, परम्परागत रुपमा रहेको टिंकर नाका नियमित सुचारु र कैलाश मानसरोवर धार्मिक पर्यटनका लागि खुला गर्न सहजीकरण गरिदिन गृह मन्त्रालयलाई अनुरोध गरिएको छ ।

व्याँस गाउँपालिकाको दुम्लिङ, तिग्रम भुल्चौरा, किम्पानी, मडगाउँ, नाजी, तुषरपानी लगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेकाले बस्ती स्थानान्तरण तथा पुर्नःस्थापनाका लागि भूगर्भविद पठाइ दिन गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँलाई माग गरिएको छ ।

यसैबीच आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई टिंकर छियाङ पर्यटन पूर्वाधार निर्माण र दार्चुला–टिंकर सडकदेखि नेपाल–भारत जोड्ने व्याँस गाउँपालिका–५ स्थितको तिग्रम झोलुङ्गे पुलसम्मको कृषि सडक स्तरोन्नतिका लागि बजेट तथा योजना माग गरिएको छ । अघिल्लो महिनामात्रै व्याँस गाउँपालिकाका प्रवत्ता उपेन्द्र सिंह धामीले व्याँसमा खानेपानी तथा संचारका लागि सम्बन्धित मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका थिए ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *