दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । पालिकाको पाँचौ वडाका रुपमा वडा नम्बर १ लाई शुक्रवार एक कार्यक्रका बीच बालविवाहमुक्त वडा घोषणा गरिएको हो । पछिल्लो समय बालविवाह हुनै छोडेपछि वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा नम्बर १ का अध्यक्ष रमेश सिंह बोहराले बताए ।
मालिकार्जुन गाउँपालिकामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति, २०७६ (परिमार्जित २०८०) लागू भएपछि त्याँहा गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र सीआरडीएस नेपालले बालविवाह विरुद्ध अभियान संचालन गरेर कार्यक्रम गर्दै आएका छन् ।
बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा सरोकारवाला पक्ष र उपस्थित सहभागिलाई बालविवाहविरुद्धको हस्ताक्षर अभियानमा हस्ताक्षरसमेत गराइएको छ ।
सामाजिक कुरीतिका रुपमा रहेको बालविवाहलाई कानूनी मान्यता अनुसार सामाजिक चेतना, जाँगरण र प्रतिवद्धताका साथ मालिकार्जुन गाउँपालिकालाई २०८२ भित्र बालविवाहमुक्त पालिका बनाउने रणनीतिक योजनाका साथ अगाडी बढिरहेको मालिकार्जुन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसिंह खत्रीले बताए ।
मालिकार्जुन गाउँपालिका–१ को श्री निलपातालेश्वर मावि भर्तोलाको प्राङ्गणमा भएको बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा विद्यार्थीलगायतले जनचेतनामूलक गित, सडक नाटक जस्ता प्रस्तुती राखेका थिए ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रमेश बोहराको अध्यक्षतामा संचालन भएको वालविवाहमुक्त वडा घोषणा कार्यक्रममा महाकाली नगरपालिका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टको प्रमुख आतिथ्यता एवं प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्याण सिंह धामीको विशिष्ट आतिथ्यता रहेको थियो ।
गत आर्थिक वर्ष २०८०/८१ मा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २ र ६ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । यस वर्ष पुस महिनाको ९ गते मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ र पुस ११ गते वडा नम्बर ८ र पुस १२ गते वडा नम्बर १ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?