नगरपालिका स्तरीय प्रारम्भिक बालविकास समिति गठन

नगरपालिका स्तरीय प्रारम्भिक बालविकास समिति गठन


दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको छ । मंगलवार महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन तथा अभिमुखीकरण र अनौपचारिक शिक्षा तथा आजीवन सिकाईका निम्ति सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको हो ।

‘गर्दै गरौ लगानी बाटो, कुलो, पुल, भवन, मन्दिरमा, थप गरौ लगानी प्रारम्भिक बालविकासमा´ भन्ने मुख्य ध्येयका साथ नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन र वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन गर्न थालिएको सामुदायिक विकास केन्द्रका शिक्षा अधिकृत नरेश प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धिकार्यक्रम अन्तर्गत पालिका तथा वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन कार्यक्रम भइरहेको हो ।

महाकाली नगरपालिकामा पालिका तथा वडास्तरीय प्रारम्भिक बालविकास समिति गठन तथा अनौपचारिक शिक्षा एवं आजीवन सिकाईका लागि सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ । अभिमुखीकरण कार्यक्रमको सहजीकरण महाकाली नगरपालिकाका शिक्षा अधिकृत हेमराज जोशीले गरेका थिए ।

महाकाली नगरपालिकामा नगरप्रमुख अध्यक्ष रहने गरी ९ सदस्यीय नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको छ । यसको सदस्यहरुमा कार्यपालिका सदस्य, सामाजिक विकास शाखा अन्तर्गतका शाखा प्रमुखहरु, महिला शाखा प्रमुख, प्रारम्भिक बालविकास विज्ञ र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव छन् ।

यस्तै महाकाली नगरपालिकाका नौ वटै वडामा वडास्तरीय प्रारम्भिक बालविकास समिति गठनका लागि सामुदायिक विकास केन्द्रका बाल विकास संयोजक मन्जु सामन्तले सहजीकरण गर्नेछन् ।

वडास्तरीय प्रारम्भिक बालविकास समितिको उद्धेश्य अनुसार वडास्तरमा समिति गठन गर्ने, कार्यक्रम सञ्चालन गर्ने खाका तयार पार्ने, सरोकारवालाहरु सँग समन्वयात्मक कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रम कार्यान्वयन तथा अनुगमन गर्ने र रणनीति तयार पार्ने रहेको छ । यस कार्यक्रमले बालबालिकाको सर्वाङगीण विकासका लागि एकीकृत लगानीमा जोड दिएको छ ।

युनिसेफको आर्थिक सहयोग र सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा सञ्चालित गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत महाकाली नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन तथा अभिमुखीकरण कार्यक्रम महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी ठगुन्नाको अध्यक्षता एवं महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नौ वटै वडाका वडाध्यक्ष, शिक्षा, युवा तथा खेलकुद शाखाका कर्मचारी, सामाजिक विकास शाखा अन्तर्गतका शाखा प्रमुखहरु, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष एवं परिचालिका लगायतको सहभागिता रहेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *