दार्चुला : दार्चुलामा एक युवकले आफ्नै घरमा आगो लगाउँदा लाखौंको क्षति भएको छ । जिल्लाको महाकाली नगरपालिका-३ बाँजका २८ वर्षीय गौर सिंह महराले बिहिवार राती आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए ।
ढुङ्गा र काठले बनेको दुई तले, ६ कोठाको घर पूर्णरूपमा जलेर नष्ट भएको उनले बताए । आगो लगाउने व्यक्ति नेपाली सेनामा कार्यरत जवान हुन् । बिदामा घर आएको बेला आगो लगाएको बताइएको छ । हाल उनको मानसिक अवस्था ठिक नरहेको स्थानीयले बताएका छन् ।
यस्तै आगलागीबाट गोठमा रहेका २ वटा गाई, ३ बाच्छा, ३ बाख्रा, एउटा बोका र २ कुकुर गरि ११ पशुचौपाया मरेको प्रहरीले जनाएको छ । घटनाबारे बिहान मात्रै खबर आएको र बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलि खटिएको प्रहरी निरीक्षक रावतले बताए । यस्तै त्यहाँ नेपाली सेना पनि खटिएको थियो ।

आगलागीबाट घरमा भएका लत्ताकपडा, अन्नपात लगायत सबै समान जलेर नष्ट भएको छ । घरमा आगजनी गर्ने महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?