दार्चुला : नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) दार्चुलाले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । महाकाली नगरपालिका-८ स्थित हरिनाथ आधारभूत विद्यालय डाँडालाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिती दार्चुलाका अध्यक्ष जनक सिंह बोहराले सोमवार एक कार्यक्रमका बीच विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हरिनाथ आवि डाँडाका प्रधानाध्यापक धनी दत्त भट्टले जानकारी दिए ।

विद्यालयलाई शैक्षिक सामग्रीअन्तर्गत कापी २० थान, कलम ३० थान, डायरी १० थान, रजिस्टर ४ थान, रेकर्ड फाइल १२ थान, एक थान ब्यानर र क्लियर ब्याग ६ थान वितरण गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्चुलाका अध्यक्ष जनक सिंह बोहराले बताए ।
विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि र विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गरिएको उनले बताए । हरिनाथ आवि (०-५) डाँडामा २० विद्यार्थी अध्ययनरत छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष जनक सिंह बोहराको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर पालको प्रमुख आतिथ्यता, विद्यालयका प्रअ धनी दत्त भट्टको विशिष्ट आतिथ्यता तथा शिक्षक धन बहादुर बम, गीता ढाट लगायतको उपस्थिति रहेको थियो । पूर्व विद्यार्थीसमेत रहेका बोहराले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेकोमा विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?