निर्णयमा निर्ममता, चरित्रमा पवित्रतासहितको नेतृत्व आजको आवश्यकता

निर्णयमा निर्ममता, चरित्रमा पवित्रतासहितको नेतृत्व आजको आवश्यकता

‘ए पेड काहे का है’ भन्दै मकैको बुटा नचिन्नेले भेडाको थुन कति वटा हुन्छ भनि सोध्नेले कृषि र पशुपालनको नाँउमा राज्यकोष बाट करोडौ अनुदान पाउँछ । गाँउमा हलो जोत्दै, भेडी गोठ सोहर्दै कुप्रिएको किसानले किन्न मल पाउदैन्, छेरिएको भेडीलाई ओखति मुलो पाउदैन, अनि त्यो किसानले लोकतन्त्र ठीक भन्दै उभिनु पर्ने ?
घरखेत बेचविखन गरी सन्तानलाई जागिर खाला भनि लेखपढ गराउनु पर्ने, सीप सृजनारहित फगत डिग्रीको पातो हात लागेर लोकसेवामा भिडदा भिडदै कतै नाम न निस्केर साहूबाट मासिक ५% ब्याजमा ऋण थामि कतार हानिएको तन्नरी र तन्नेरीको वा आमाले लोकतन्त्रको वकालत गरिदिनु पर्ने ?
दार्चुला, हुम्ला, जुम्लाको पाखो जमिन, बन्धकी राखि रोगको उपचार गर्न गएको विरामीले डाक्टरबाट ६ महिनापछि अप्रेशनको पालो आउने जानकारी प्राप्त हुदा घर फर्किने की, मर्ने द्विविधामा पुगेको रोगी र रोगीको बा ले संघीयताको बखान किन गर्ने ?
दिन रात नभनि कहिले पूर्व र कहिले पश्चिम, बुट बजारेको प्रहरी जवानले पहुँच नभएकै कारण सधै प्रमोशनमा खिस्रिक पर्दै सेवानिवृत्त हुनु पर्छ भने उसले रिटायर्ड जीवनमा नेताहरुको भक्ति भजन किन गर्ने ?

उल्लेखित सन्द्रर्भहरू हाम्रो राजनीति भित्रका थुप्रै विकृत संस्कारजन्य अभ्यासका उधारणहरू हुन । लोकतन्त्र जनता सार्वभौम (मालिक) हुने व्यवस्था हो । तसर्थ लोकतन्त्रको विकल्प दासता किमार्थ हुन सक्दैन, आम जनताले लोकतन्त्रलाई सिद्धान्तमा भन्दा व्यवहारमा बुझ्ने गर्दछन, लोकतन्त्र रहित व्यवस्थामा राज्यका सेवा, सुविधा र अवसरहरू शासकीय शक्तिको वरिपरि सिमित रहन्छन् । जसको नियन्त्रण र सन्तुलनको प्रवन्ध कमजोर हुन्छ । दलहरूले यहि राज्य पद्दत सेवा, सुविधा र अवसरलाई आम जनतासम्म पुर्याउन लोकतन्त्र, गणतन्त्र, संघीयता चाहिन्छ भनेर जनतालाई भन्यो र आन्दोलित गर्यो, व्यवस्था परिवर्तन पनि भयो। तर व्यवहारिक अभ्यास गर्दा कुनै पनि तप्का जो दल र दलका शक्ति केन्द्रको नजिक छ उस बाहेक कसैलाई पनि लोकतन्त्र आए पछि मैले यो अवसर पाए, यो सुविधा पाए, हिजो भन्दा आज मेरो राज्य, मेरो संरक्षणमा यसरि उभियो भनेर सन्तुष्ट हुने अवस्था नहुनु आजको यथार्त हो। लोकतन्त्रलाई व्यवहारीक बनाउने तिर भन्दा दल र दलका नेताहरू मैमत्त भई हिजो कै शासकझै राजसी आहार, व्यवहार र विकृत आचरणमा लिप्त हुने गरी तछाड मछाडमा लाग्न थाले। आज चौतर्फी जनता असन्तुष्ट हुनै पर्ने मुल आधार पनि यही हो।

नेपालको राजनीति भित्र यो असन्तुष्टिलाई बुझ्ने, बुझाउने र भजाउने थरी थरी प्रयासहरू संग सगै भएको भान हुन्छ।
सवै ठिक ठाक छ । के कम भाछ ? पुर्वाधार बनेका छन, हाम्रा नेताले यो गरे, त्यो गरे, प्रकट भएका सवै असन्तुष्टिहरु प्रायोजित हुन भन्दै भक्ति भजनको बलमा पद र स्वार्थको तर मार्ने झोले प्रवृत्ति एकातिर देखिन्छ भने, अर्को तिर फिटिक्कै केहि पनि भएको छैन भनेर होलसेलमा नकारात्मकताको पसल चलाउने र वर्तमान व्यवस्थानै खराब हो भन्ने भाष्य निर्माण गरी गुमेको रजगज प्राप्तिको दिउसै सपना देख्ने, च्याखे प्रवृत्ति अर्को तिर देखिन्छ ।
मानव समाज विकासको गतिशीलतालाई पछाडी फर्काउने कोशिस फगत कोशिश हो । मानव विकासको प्रारम्भिक चरण आदिम कालमा मान्छे नाङ्गै हिडथ्यो । व्यक्तिगत सम्पति थिएन, मेरो तेरो थिएन्, शोषण उत्पिडन केहि थिएन्, राज्यको झगडा थिएन । जसलाई आदिम साम्यवाद पनि भनिन्छ। के अबको मानव सभ्यताले सबै हटाऊँ आदिम युगमा फर्कौ भनेर, संभव छ ?

वर्तमान असन्तुष्टीको रामवाण अैाषधी राजा फर्माउनु हो भन्नेहरुले अप्रत्यक्ष रुपमा पृथ्वी नारायण शाह जस्ता नेपाल निर्माता राजाको इतिहासलाई समेत बहस र विवादमा तान्दैछन, जुन राजाप्रति प्राय: एकमुष्ट नेपालीहरूको श्रध्दा छ । इतिहासको कालखण्डमा शाहवंशीय अन्य राजाहरूले पनि मुलुकको सार्वर्भौमिकता, एकता, अखण्ताको क्षेत्रमा योगदान पुर्याउनु भएकोछ । राजा, जनताले पुर्याएको सकारात्मक योगदान नेपालको ऐतिहासिक पुजी हो। तर २०६५ देखि गणना गर्दा १६ वर्ष र संविधान जारी भएको ०७२ देखि गणना गर्दा ९ वर्ष मात्र पुरा गरेको वर्तमान प्रणाली दोषै दोषको थुप्रो र २४० बर्ष पुरा गरेको प्रणाली गुणै गुण युक्त भनिरहदा, कुन सचेत नेपालीले पत्याँउछ ?

४०० जना सत्ताको निकटवर्ती नेपालीहरुको ज्यान जाने गरी रचिएको कोत पर्व देखि, भण्डारखाल पर्व, प्र.म. रणोद्वीप र जगतजंग लगायतका मुख्तियारहरू मार्न रचिएको ४२ सालको पर्व, विद्वान गेहेन्द्र शमशेर र जनमुखी राणा प्र.म. देव शमशेर लाई विषवमन गरी मारिएको, गेहेन्द्र पर्व देखि नारायणहिटी पर्व सम्म भएका हत्याहरू संग नेपाली जनताको मुक्ति र स्वाधिनता को कुनै साइनो छ ? ०४६ अघि के रामायणमा लेखेको अयोध्या झै रामराज्यै थियो ? थियो भने नेपालीको अैासत आयु किन ५६ वर्ष मात्रै ? थियो भने, ५०% भन्दा बढी नेपाली गरीबको रेखा मुनि किन ? प्रति व्यक्ति आय १८५$ मात्र किन ? राजस्वको ५०% खर्च दरवारलाई किन ? जिल्लामा अैासतमा ५ मात्र हाईस्कुल किन ? काठमाडौं पुग्न पुरा ३ महिना लाग्ने किन ? पहाडमा भात खान तिहारै पर्खिनु पर्ने किन ? देश भरी एकमात्र अस्पताल वीर अस्पताल किन ? यी र यस्तै थुप्रै तथ्यहरू संग वर्तमानमा बनाउन खोजिएको भाष्यको तादम्यता कतै देखिदैन ।

राजतन्त्र र बर्तमानका तथ्यहरूको तुलना गर्दै, वर्तमानमा सब ठीक छ भन्ने तर्कमा जति सत्यता छैन्, त्यति नै असत्यता राजा सामाधानहो भन्ने तर्कमा छ। प्रगति भएको छ तर हुनु पर्ने उचाईमा भएको छैन् । सुशासन डमाडोल छ, लोकतन्त्र भित्र थुप्रै विकृति देखा परेका छन । युवा तन्नेरीहरू, मजदुर किसानहरु, उद्योग व्यवसायीहरू, राष्ट्रसेवक शिक्षक, कर्मचारी जताततै असन्तुष्टी छ । यो यथार्थलाई बुझ पचाएर बस्ने दलका नेताहरूलाई परिवर्तनको चुनौती दिनु अनिवार्य छ । आधुनिक सिगांपुरका पिता ली क्वान यु ले, आफ्नै काका विकास मन्त्री टान किया गान लगायत वातावरण मन्त्री वि टुन वुन, सांसद फेयु कोक जस्ता नजिकका सहयोगीहरूलाई भ्रष्ष्ट्राचारको आरोप लाग्दा निर्मम कार्वाही मात्रै गरेनन, देश निकाला समेत गरे । सुरुवातमा मन्त्री कर्मचारी सबैको तलव घटाए । आफु वेदाग रहदै सबैलाई त्यसै बाटोमा हिडाए। समृध्दि पश्चात सबैको सुविधा वृद्धी गरे।

हामी प्रचलित शासन व्यवस्थाहरू मध्ये सर्वोत्तम व्यवस्थामा छौ, व्यवस्था भित्रको अवस्था निसन्देह ठिक छैन्, सो वेठिक अवस्थालाई ठिक पार्न, राजतन्त्र ल्याउने वा अरु थोक ल्याउने आन्दोलन गरी देशलाई एक पछि अर्को आन्दोलनको गोलचक्करमा फसाउने बाटो होइन् । आ-आफ्नो दल भित्रैबाट चरित्रमा पवित्रता भएको, निर्णयमा निर्ममता भएको र राष्ट्र निर्माणको तिर्खा बोकेको नेतृत्व विकासको चर्को दवाव सृजना, सबै दलहरू भित्र गर्नु वान्छनीय हुन्छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *