दार्चुला : शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

दार्चुला : शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

दार्चुला । यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन्।

गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन्।

यार्सा संकलनको सिजन सुरु भएकाले जेठको सुरुआतदेखि तेस्रो सातासम्म पालिकाभरिका विद्यालय बन्द गरिन लागेको अपीहिमाल गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिह साउँदले बताए। अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले कम्तीमा दुई साताका लागि विद्यालय बन्द गरिन लागेको उनले बताए। गाउँपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको अन्तरक्रियाबाट बर्खे र हिउँदे बिदामा मिलान हुने गरी यार्सा संकलनको समयमा बिदा गरिने समझदारी भएको साउँदले बताए।

उनका अनुसार केही विद्यालय मंगलबारबाट बन्द गरिएका छन् भने केही शुक्रबारसम्म सञ्चालन गरेर बिदा दिइने तयारी छ। ‘जेठ ४ देखि पालिका सबै विद्यालय बन्द हुने अवस्था छ,’ उनले भने। अपीहिमाल–६ स्थित छिपुलाकेदार आधारभूत विद्यालय धङक्ङ र महादेव आधारभूत विद्यालय खडियानले मंगलबारदेखि कक्षा सञ्चालन बन्द गरेका छन्। मंगलबार भवानी मावि सौकान्नाले पनि बन्द गर्ने जानकारी गराएको उनले बताए। जडीबुटी संकलन गरिने यो सिजनमा यहाँ हरेक वर्ष अधिकांश विद्यालय बन्द हुने गरेका छन्। विगतमा पालिकाले नै विद्यालय बन्द गर्ने निर्णय गर्दै आएकामा यसपालि व्यवस्थापन समितिलाई आफू अनुकूल निर्णय गर्ने सहमति भएको शिक्षा शाखा अधिकृत साउँदले बताए। गाउँपालिकाभरीका २४ वटा सामुदायिक विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी संकलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन्। अन्न उत्पादन कम हुने स्थानीयले जेठ–असारमा संकलन गरिने जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन्। त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेका छन्।

यार्सा सिजन सुरु भएसँगै जिल्लाको अपीहिमाल, मार्मा, नौगाड, दुहु, व्यासलगायत गाउँपालिका बासिन्दा लेक उक्लिने चटारोमा रहेको स्थानीय अपीहिमालका विशनसिह बुढाथोकीले बताए। अपीहिमालको लोलु, रिङ्देपानी, रौन्याड, सतगंगा कालीढुंगालगायत पाटनमा बढी यार्सागुम्बा संकलन हुने गर्छ। अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले सबैभन्दा बढी यार्सागुम्बाबाटै राजस्व संकलन गर्दै आएको छ। संरक्षण क्षेत्र कार्यालयले जेठ दोस्रो साताबाट यार्सा संकलन गर्नुपर्ने सूचना जारी गरेपनि स्थानीय वैशाख दोसो सातादेखि नै लेकतिर गइसकेका छन्।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *