यार्सा सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो ?

यार्सा सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो ?

काठमाडौं । यो सिजनको यार्सागुम्बा टिप्न गएका तीन जनाले ज्यान गुमाएका छन्। दुई जनाको लेक लागेर र एकजना भीरबाट लडेर मृत्यु भएको मृत्यु भएको छ। लेक लागेर सिकिस्त एकजनाको उपचार भैरहेको स्थानीय प्रशासनले जनाएको छ।

तीन वर्षअघि यसैगरी यार्सा टिप्न गएका १० जनाले ज्यान गुमाएका थिए। तीमध्ये ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना बच्चाको चिसोले कठाङ्ग्रिएर ज्यान गएको थियो। यो वर्ष पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिएका छन्।

सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचार गर्न लगिएको छ। यार्सा टिप्न पाटन पुगेका तीन जनाको गत वर्ष हिउँ पहिरोमा परेर मृत्यु भएको थियो।

मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगु मकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो।

जाजरकोट, रुकुम, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाबाट यार्सा टिप्न दशौँ हजार मानिस डोल्पा, रुकुम र मुगुका उच्च पहाडी भेगमा जाने गर्छन्। उनीहरुसँग जोखिम व्यवस्थापन र आपतकालिन उध्दारको कुनै प्रवन्ध हुँदैन। केही सुरक्षाकर्मी सँगसँगै हिँडे पनि दुर्घटना हुँदा आपतकालिन उध्दारको कुनै उपाय देखिँदैन।

यार्सा जुम्ला, डोल्पा, मुगु, रुकुम, जाजरकोट, दार्चुला, हुम्ला, मनाङ, मुस्ताङ जिल्लाका बासिन्दाको मुख्य आय स्रोत मानिन्छ। नेपालमा प्रत्येक वर्ष झन्डै पाँच अर्ब रुपैयाँको कारोबार हुने यार्सागुम्बाबाट सरकारले दुई करोड रुपैयाँजति राजस्व सङ्कलन गर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ।

रोचक कथा यार्सागुम्बाको
यार्चागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको शब्द हो। तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ। जसमा ‘यार’ को अर्थ वर्षा, ‘सा’को अर्थ घाँस र ‘कुन्भु’को अर्थ हिउँदे किरा अर्थात वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ।

यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ। शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ। जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो। वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन्। यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्चागुम्बा भनिन्छ। नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र किडाजडी भनिन्छ। कर्णाली अञ्चलको जुम्ला र हुम्लाका भोटेहरूले यसलाई यार्साकिमु भन्छन्।

किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्चागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ।

हुन पनि यो कहिल्यै मर्दैन भनिन्छ। बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ। बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ। यार्चागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रूपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ।

कहाँ कति छ?
विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्चागुम्बा पाइन्छन्। यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ। पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखुराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ।

खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनियाँ औषधी विधि अनुसार सेवन गरिन्छ। बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ। स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ।

हाल यार्चागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको छ। नेपालको हिमाली भेगमा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार मान्छि।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *