दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकामा बालीविज्ञान प्रशिक्षक र सहायक प्रशिक्षकको परीक्षा मन्दिरमा संचालन गरिएको छ । सम्पाल मावि सुन्सेराको माध्यमिक तह (कक्षा ९–१२) प्राविधिक धारतर्फ बाली विज्ञान विषयको परीक्षा व्याँस गाउँपालिका–४ स्थितको गोरखनाथ देवताको मन्दिरमा संचालन गरिएको हो । जेठ १९ र २० गते संचालन गरिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
बालीविज्ञान प्रशिक्षकमा डोटीको बडिकेदार गाउँपालिका–५ का लोकेश कठायत सिफारिस भएका छन् । भने सहायक प्रशिक्षकमा दशरथचन्द नगरपालिका–६ बैतडीका आभाष पन्त सिफारिस भएका छन् । यस्तै प्रशिक्षकको बैकल्पिक सूचिमा बैतडीका उमेश प्रसाद जोशी र सहायक प्रशिक्षकको बैकल्पिकमा दार्चुलाको दुहुँ गाउँपालिकाका लोकेन्द्र कार्की सिफारिस भएका छन् ।
सम्पाल माविको बालीविज्ञान प्रशिक्षकको विज्ञापनमा ७ जनाको दरखास्त परेकोमा ६ जना परीक्षामा सहभागी भएका थिए भने सहायक प्रशिक्षकको ९ जनाको दरखास्तमा ८ जना परीक्षामा सहभागी भएको विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामीले जानकारी दिए । परीक्षामा विश्वसनीयता कायम गर्न पनि आस्थाको धरोहर मन्दिरमा परीक्षा संचालन गरिएको जनाइएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?