दार्चुला : ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने विश्वव्यापी नाराका साथ दार्चुलामा बजार सरसफाइ र वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८१ मनाइएको छ । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको आयोजनामा प्रमुख जिल्लाअधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं सुरक्षाकर्मीहरुको उपस्थितिमा दिवस मनाइएको हो । दिवसका अवसरमा बिहान प्रभातफेरी कार्यक्रम निकाल्दै बजार सरसफाई गरिनुका साथै विभिन्न प्रजातिका फलफूलका बोटबिरुवाहरु रोपण गरिएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख बिनय कुमार झाले जानकारी दिए ।
विश्व वातावरण दिवस हरेक वर्ष जुन ५ तारिखमा विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । जलवायु परिवर्तनका कारण अपि नाम्पा जस्ता हिमालमा द्रुत गतिमा हिउँ पग्लिरहेको हुँदा यसले जैविक विविधतामा असर पु¥याइ रहेको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका कार्यालय प्रमुख बिनय कुमार झाले बताए । सबैको सहयोगले जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक रहेको उनले बताए ।
मानव जातिको महत्त्वाकाक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको र यसलाई रोकथाम गर्न वृक्षारोपण आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीले बताए ।
दार्चुला जिल्लाका उत्तरी भेगका ५ वटा गाउँपालिकाकाको भू–भाग र महाकाली नगरपालिकाका ३ वटा वडा समेट्दै १ हजार ९०३ वर्ग किलोमीटरमा फैलिएको अपीनाम्पा संरक्षण क्षेत्र २०६७ सालमा स्थापना भएको हो । यस क्षेत्रभित्र सुदूरपश्चिम प्रदेशकै अग्लो ७१३२ मिटरको अपिहिमाल रहेको छ ।
सरसफाई तथा वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशी, अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख बिनयकुमार झा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्कराज पन्त, नेपाली सेनाको गुरुगोरख गुल्म दार्चुलाका गुल्मपति बुद्ध देबकोटा, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंह लगायत सुरक्षाकर्मी र अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?