दार्चुलाका भरतले पारा ओलम्पिक खेल्ने

दार्चुलाका भरतले पारा ओलम्पिक खेल्ने

दार्चुला : नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारा ओलम्पिक-२०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनौट भएका नेपाल तेक्वान्दो संघले जनाएको छ। भरतले पारा ओलम्पिकमा के–४४ क्याटागोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौल समूहमा १२ खेलाडी रहनेछन्। छनौट हुने भरत अन्तिम खेलाडी हुन्। वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी पाँच खेलाडीले छनौट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए ।

दार्चुला जिल्लाको अपिहिल गाउँपालिका-६ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहेका छन्। भरतसँग हालसम्म दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ। उनले चीनको ताइयुआनमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

एसियाली छनौटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग चुकेका थिए। उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१औँ स्थानमा पुगेका थिए। त्यसअघि उनी वरीयताविहीन थिए।
भियतनाममा पनि भरतले एसियाली छनौटकै नतिजा आत्मासात् गरे । पहिलो खेलमा काजकिस्तानका खेलाडीलाई हराएका भरतले दोस्राे खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए।

भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८औँ स्थानमा उक्लिएका प्रशिक्षक लामाले जनाएका छन् । अहिले पनि भरत ५८ औँ स्थानमा कायम छन्।
यससँगै पेरिस पारा ओलम्पिकमा  नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या दुई पुगेको छ। यसअघि पलेशा गोबर्धनले छनौट चरण पार गर्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी छिन् ।
चीनको ताईयुआनमा भएको एसियाली छनोटको के– ४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन्।

चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनौट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *