भत्ता नपाइने भन्ने हल्लाले राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, जेष्ठ नागरिकलाई सास्ती

भत्ता नपाइने भन्ने हल्लाले राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, जेष्ठ नागरिकलाई सास्ती

दार्चुला : राष्ट्रिय परिचय पत्र नबनाए आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाईने भन्ने हल्लाले यतिबेला जिल्ला प्रशासन कार्यालय दार्चुलामा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड थेगी नसक्नु छ । बिगत दुई हप्ता बढी समयदेखि सयौँको संख्यामा जेष्ठ नागरिकहरुको प्रशासनमा भीड लाग्ने गरेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
पहिलो चरणमा दार्चुला जिल्ला नपरे पनि राष्ट्रिय परिचय पत्र नबनाए भत्ता पाइँदैन भन्ने हल्ला फैलिएसँगै जेष्ठ नागरिकहरु सकि नसकि राष्ट्रिय परिचय पत्रको नम्बर लिन प्रशासन धाइरहेका छन् । जसका कारण जेष्ठ नागरिकलाई निकै नै सास्ती भोग्नुपरेको छ ।

पहिलो चरणमा कन्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ, कपिलबस्तु, रुपन्देही, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, पर्सा, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लामा मात्रै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । यसको प्रभाव दार्चुलामासमेत देखिएको छ ।

वैयक्तिक तथा जैविक विवरण समेटिएको बायोमेट्रिक कार्ड राष्ट्रिय परिचयपत्र भएकाले व्यक्ति स्वयं उपस्थित हुनुपर्दछ । स्थानीय तहहरुले धमाधाम सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र नम्बर लिन जिल्ला प्रशासन जान भनेपछि अहिले सामाजिक सुरक्षा पाउने नागरिक घण्टौँसम्म लाइन लागेर परिचयपत्र बनाउन थालेका छन् । स्थानीय तहहरुले सही सूचना प्रवाह गर्न नसक्दा पनि जेष्ठ नागरिकहरुले सास्ती व्यहोरीरहेका छन् ।

हाललाई प्रशासनले राष्ट्रिय परिचयपत्र वितरण कार्य बन्द गरेको छ । यस्तै सेवाग्राहीको भीडलाई मध्यनजर गरेर बिहीवारदेखि जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुई दर्ता अपरेटरले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । यसअघि एक जना मात्रै दर्ता अपरेटर भएकाले पनि काममा ढिला हुने गरेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *