दार्चुला : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दार्चुलाबाट यसवर्ष १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैतमा भएको यस वर्षको परीक्षामा दार्चुलाबाट दुई हजार ५ सय ९५ जना परीक्षार्थी सहभागी भएकोमा १९ दशमलव ९६ प्रतिशत उतीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।
एसईई परीक्षाका लागि २ हजार ७ सय ५० जनाले फाराम भरेकोमा २ हजार ५ सय ९५ विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए । दार्चुलाबाट एसईईमा सहभागी भएका विद्यार्थीमध्ये कसैले पनि ४ जीपीए ल्याउन सकेका छैनन् । ३ दशमलव ६ देखिमाथि र ४ जीपीए भन्दा कम ल्याउने परीक्षार्थी संख्या १३ जना रहेका छन् । यस्तै ३ दशमलव २ देखिमाथि ३ दशमलव ६ भन्दा कम जीपीए ल्याउने परीक्षार्थीको संख्या ५३ रहेको छ ।
२ दशमलव ८ देखिमाथि ३ दशमलव २ भन्दा कम जीपीए ल्याउने परीक्षार्थीको संख्या १ सय ९१ रहेको छ भने २ दशमलव ४ देखिमाथि र २ दशमलव ८ भन्दा कम ल्याउने परीक्षार्थीको संख्या २ सय २५ रहेको छ ।
यस्तै परीक्षामा सहभागी भएका परीक्षार्थी मध्ये ३२ जनाले २ दशमलव ० देखि माथि २ दशमलव ४ भन्दा कम जीपीए ल्याएका छन् । जिल्लामा २ हजार ६१ जनाको ‘एनजी’ अर्थात् ‘ननग्रडेड’ आएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?