दार्चुला : नेपाल–चीन जोड्ने दार्चुलाको टिंकर नाका खुलेको चर्चा सँगै २७ जना व्यापारी त्यसतर्फ हिडेका छन् । व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्गरु र टिंकरका व्यापारी ताक्लाकोटका लागि हिडेका हुन् । बुधवार छाङ्गरुका १५ जना र टिंकरका १२ जना गरी २७ जना पहिलो चरणमा नाका प्रवेशका लागि हिडेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
ताक्लाकोटमा रहेका स्थानीय व्यापारीमार्फत नाका खुला रहेको भन्ने व्याँस क्षेत्रका व्यापारीलाई खबर भएपछि उनीहरु त्यसतर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । तर, आधिकारीक रुपमा चीनियाँ पक्षले नाका खुलेको जानकारी पठाएको छैन् । गत जेठ १७ गते ताक्लाकोटस्थित चीनियाँ अधिकारीहरूसंग दार्चुलाका प्रजिअसहित सुरक्षा अधिकारीहरूले वी च्याटमार्फत भीडिओ संवाद गर्दै नाका संचालनबारे छलफल गरेका थिए ।
सोही अनुसार असार ११ गते औपचारिक रुपमा नाका खुल्ने तय भएको थियो । तर, उक्त मितिमा प्राविधिक तयारी नपुगेको भन्दै चीनियाँ पक्ष नाका खोल्न तयार भएन भने पुनः असार २६ गते खुल्ने जानकारी व्यापारीहरुलाई पठाएको थियो ।
असार २६ गतेपनि औपचारिक रुपमा नाका खुलेन । अहिले यसअघि ताक्लाकोटमा व्यापार संचालन गर्दै आएकाहरुका लागि नाकामा आवागमन सहज भएको व्यापारीहरुलाई खबर आएको र सोही अनुसार व्यापारीहरु त्यसतर्फ जान थालेको दार्चुला प्रशासनले जनाएको छ । उनीहरु भोलि मात्रै चीन प्रवेश बिन्दुमा पुग्ने बताइएको छ ।
चीन प्रवेशका लागि दार्चुलाका १ सय ८७ जनाले अनुमति पत्र बनाएका छन् । कोरोना कालदेखि दार्चुलाको टिंकर नाका बन्द रहेको छ । ताक्लाकोटमा ५ दर्जन बढी ब्यासी परिवारका पसल रहेका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?