दार्चुला भन्सारद्वारा लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलन

दार्चुला भन्सारद्वारा लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलन


दार्चुला : दार्चुला भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । लक्ष्यको १७ प्रतिशत बढी राजश्व संकलन गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए । गत वर्ष कार्यालयले ५० लाख ७० हजार लक्ष्य राखेको थियो । गत आर्थिक वर्षमा ५९ लाख २९ हजार ९ सय ३५ रुपैयाँ राजस्व रकम संकलन भएको हो ।

वार्षिक लक्ष्यभन्दा ८ लाख ५९ हजार ९ सय ३५ बढी राजश्व संकलन गरिएको कार्यालय प्रमुख प्रसादले बताए । उनका अनुसार गत आर्थिक वर्षको सुरुको महिना साउनमा ६ लाख ७० हजार ४ सय ८१ रुपैयाँ, भदौमा ४ लाख ६ हजार ७१ रुपैयाँ, असोजमा ४ लाख ४९ हजार १ सय ६८ रुपैयाँ, कार्तिकमा ४ लाख १३ हजार २ सय १ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै मंसिर महिनामा ३ लाख ६८ हजार ९३ रुपैयाँ, पुषमा ३ लाख २७ हजार ४ सय ८० रुपैयाँ, माघ महिनामा २ लाख ७२ हजार ३ सय ५८ रुपैयाँ, फागुनमा ४ लाख ५३ हजार ९ सय १२ रुपैयाँ र चैत्र महिनामा ५ लाख ५० हजार ६ सय २८ रुपैयाँ राजस्व संकलन भयो ।

बैशाख महिनामा आर्थिक वर्षकै बढी ८ लाख १३ हजार ७ सय ९३ रुपैयाँ राजस्व संकलन गरिएको छ । जेठ महिनामा ६ लाख ८४ हजार ५ सय ५० रुपैयाँ र असार महिनामा ५ लाख २० हजार २ सय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

समग्रमा राजस्व संकलन वार्षिक लक्ष्यभन्दा १६.९६ प्रतिशत बढी भएको दार्चुला भन्सार कार्यालयले जनाएको छ । यस आर्थिक वर्षको बैशाख, जेठ र असार महिनामा यो भन्सार नाका भएर छिमेकी मुलुक भारत खरी निर्यातसमेत भएको थियो । चालू आर्थिक वर्ष २०८१÷०८२ का लागि ७५ लाख ७४ हजार राजस्व संकलन लक्ष्य राखिएको छ ।


पछिल्ला वर्ष निरन्तर लक्ष्यभन्दा बढी राजस्व संकलन हुदै
पछिल्ला आर्थिक वर्षमा दार्चुला भन्सार कार्यालयले वार्षिक लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । भन्सार राजस्व संकलनको अभिलेखीकरण तथ्यांक हेर्दा आर्थिक वर्ष २०७७/०७८ मा १० लाख २० हजार वार्षिक लक्ष्य रहेकोमा १६ लाख ५३ हजार ९० रुपैयाँ संकलन भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा १९ लाख ३६ हजार वार्षिक भन्सार राजस्व संकलनको लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी ३५ दशमलव ८८ प्रतिशत संकलन भयो । जुन २६ लाख ३० हजार ६ सय ५५ रुपैयाँ हुन आउँछ । यस्तै आर्थिक वर्ष २०७९/०८० मा दोब्बर बढी राजस्व संकलन भयो । सो आर्थिक वर्षमा १९ लाख ६८ हजार राजस्व संकलन लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी १०७ दशमलव ३८ प्रतिशत अर्थात ४० लाख ८१ हजार ४ सय २ रुपैयाँ संकलन भएको थियो ।

गत आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख ७० हजार राजस्व संकलन लक्ष्य राखिएको थियो । दार्चुला भन्सार कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यलाई उछिन्दै ५९ लाख २९ हजार ९ सय ३५ रुपैयाँ संकलन गर्यो । जुन लक्ष्यको १६ दशमलव ९६ प्रतिशत वृद्धि हो ।

दार्चुला भन्सार कार्यालयले चालू आर्थिक वर्षमा विभागबाट ७५ लाख ७४ हजार रकम राजस्व संकलन गर्नुपर्ने लक्ष्य पाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *