दार्चुला : दार्चुलाको नेपाल–भारत जोड्ने सीमा पुलमा चेकजाँच गर्ने क्रममा भारतीय सुरक्षाकर्मी (एसएसबी) ले एक नेपाली युवकलाई स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । भारतीय संचार माध्यमका अनुसार ती युवकबाट भारतीय २२ लाख रुपैयाँ बरामद गरिएको हो ।
झोलुङ्गे पुलबाट नेपाल आउँन लागेका युवकबाट एउटा बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जनाइएको छ । बिहीवार बिहान पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीहाट प्रहरीले रकमसहित बरामद गरेको हो । ती युवकले आफ्नो ठेगाना बैतडीको डिलाशैनी गाउँपालिका–३ र नाम प्रकाश धामी बताएका छन् ।
उनले बेला–बेला फरक फरक ठेगाना बताउने गरेका छन् । सोही क्रममा उनले दार्चुलाको मार्मा क्षेत्र घर भएकोसमेत बताएका छन् ।
उनी सँग पहिचान गराउने कुनै प्रमाणपत्र छैन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?