`विपद् व्यवस्थापनमा सक्रिय हुन निर्देशन´

`विपद् व्यवस्थापनमा सक्रिय हुन निर्देशन´

दार्चुला : जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक यज्ञराज जोशीको अध्यक्षतामा मंगलवार बैठक बसेको हो । मनसुनजन्य वर्षातका कारण बाढी, पहिरो लगायतका घटनाबाट हालसम्म भएको क्षतिका सम्बन्धमा छलफल गर्न र थप क्षति हुन नदिनका लागि सरोकारवाला निकायहरुको उपस्थितिमा बैठक बसेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ का लागि जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र मनसून पूर्वतयारी कार्ययोजनाको अद्यावधिक संस्करण तयार गरिएकोले उल्लेखित कार्य योजनाहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट अनुमोदन गरिएको छ । मनसूनजन्य वर्षातको समय कायमै रहेकाले विपदजन्य घटनाबाट मानवीय तथा भौतिक संरचनाहरुमा हुने सक्ने क्षतिलाई रोकथाम एवं न्यूनीकरण गर्न जिल्लास्थित सबै स्थानीय तह, सुरक्षा निकाय, सरकारी एवं गैर सरकारी संघसंस्था तथा नागरिक समाज सबै क्षेत्रमा सक्रिय भई समन्वयात्मक रुपमा कार्य गर्न निर्देशन दिइएको छ ।

वर्षाका कारण सडक, बाटो अवरुद्ध भई यातायात सुचारुमा समस्या हुने हुँदा अवरुद्ध सडक तथा बाटो यथाशिघ्र संचालनका लागि सम्बन्धित सबै निकायहरुलाई तयारी अवस्थामा रहन भनिएको छ । मनशुनजन्य अविरल वर्षाका कारण बाढी पहिरोबाट भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहबाट प्राप्त भएमा सो अनुसारको विवरण आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिश गरी पठाउने निर्णय बैठकले गरेको छ ।

यस्तै मनसुनजन्य विपद प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ (संशोधन समेत) बमोजिम दार्चुलाको दुहुँ गाउँपालिकाका लाभग्राहीहरुलाई यस पूर्व पुनर्स्थापनाका लाभग्राही कायम गरि सम्झौता गरिएकोमा उनीहरुले लाभग्राहीहरुको सम्झौता परिवर्तन गरी पुनर्निमाणका लाभग्राही कायम गरिदिन हुन स्थानीय तहबाट पठाइएका ६ जना पुनर्निर्माणका लाभग्राही कायम गरी नियमानुसार निजी आवास पुनर्निमाण कार्य सम्पन्नताको कार्य प्रगति विवरण एमएस रिकन्सटक्सन सिस्टममा प्रविष्ट भए बमोजिम किस्ता रकम उपलब्ध गराउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरवार, काठमाडौं समक्ष सिफारश गरी पठाउने निर्णय गरिएको छ ।

यस्तै मार्मा गाउँपालिकामा बाढी तथा पहिरोले ३५ परिवार प्रभावित भएका छन् । खासगरी वडा नम्बर ४ र ५ मा ठूलो क्षति भएको छ ।

बाढीबाट प्रभावित ३५ परिवारलाई साउन ११ गते जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट ७० थान कम्बल वितरण गरिएको उक्त कम्बल खर्च बैठकले अनुमोदन गरेको छ । मार्माका ३५ प्रभावित परिवारलाई गैरसरकारी संस्था अक्सफाम नेपालको आर्थिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाले खाद्यसहितको सेल्टर किट र हाइजेनिक किट लगायतको राहत सामाग्री वितरण गरेको थियो ।

मार्मा पहिरो नियन्त्रणका लागि प्राविधिक सम्मिलित समिति गठन
मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ मा गएको पहिरोका कारण ठूलो क्षति भएकाले यसको नियन्त्रण र भावी योजना तयार पार्न प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको छ ।
बिपद व्यवस्थापन समितिको बैठकमा उपस्थिति जनाएका दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूको निर्देशनमा क्षति न्युनिकरणका लागि समिति गठन गरिएको हो ।

साथै उनको बुधवार मार्मामा गएको पहिरो क्षेत्रको अवलोकन र पीडित परिवारलाई भेट्ने कार्यक्रम रहेको छ ।
पूर्वाधार विकास कार्यालय, बैतडीका ईन्जिनियर हर्क राज जोशीको संयोजकत्वमा समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । समितिको सदस्यमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दार्चुलाका सहायक ईन्जिनियर मदन बहादुर भण्डारी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडी, सम्पर्क कार्यालय, दार्चुलाका सहायक ईन्जिनियर प्रकाश पार्की, दार्चुला विद्युत वितरण केन्द्र दार्चुलाका सुपरभाईजर पदम बहादुर बम र मार्मा गाउँपालिकाका सहायक ईन्जिनियर विक्रम जोशी रहेका छन् ।

मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ मा तपोवन–मुरै–निम्ठा सडकखण्ड निर्माणका क्रममा फालिएको ढुंगा, माटोले गर्दा हाल मनसुजन्य वर्षाका कारण वडा नम्बर ४ को मर्मतीदेखि वडा नम्बर ५ को गन्याडी वस्तीसम्म पहिरो गई क्षति तथा जोखिम भई विस्तापित भएका घरपरिवारलाई पुन:स्थापन गर्ने तथा खानेपानी, सिंचाई लगायत क्षतिग्रस्त भौतिक संरचनाहरुको पुन:र्निर्माणका लागि तत्काल के गर्न सकिन्छ र भविष्यमा थप के के गर्ने भन्ने सम्बन्धमा प्रतिवेदन तयार गरी पेश गर्न पूर्वाधार विकास कार्यालय, बैतडीका ईन्जिनियर हर्क राज जोशीको संयोजकत्वमा सिंचाई, खानेपानी, विद्युत र मार्मा गाउँपालिकाको प्राविधिकप्रतिनिधि सहितको समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *